काठमाडौं । अमेरिकाले चाइना टेलिकमलाई अमेरिकी बजारमा सेवा गर्न रोक्ने धम्की दिएको छ । अमेरिकी न्याय विभागले अमेरिकी सरकारका शीर्ष विभागहरुको कानुनी र सुरक्षा जोखिमको कारण देखाउँदै चीनको राजधानी बेइजिङद्धारा नियन्त्रित चाइना टेलिकमलाई अमेरिकाका बजारमा सेवा गर्नबाट रोक्ने जनाएको हो ।
अमेरिकाका रक्षा, राज्य र आन्तरिक सुरक्षा लगायतका विभागहरुले विस्तृत रुपले गरेको समीक्षापछि संघीय संचार आयोगले चिनियाँ टेलिकमको अमेरिकाका लागि आधिकारिकता खारेज र बन्द गर्नुपर्ने पनि जनाएको छ ।
न्याय विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यकारी शाखा एजेन्सीहरुले चिनियाँ टेलिकमको प्रयोगले अमेरिकामा सुरक्षा जोखिम बढेकाले यसलाई तत्काल बन्द गर्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको बताएको हो ।
एजेन्सीहरुले चाइना टेलिकमले अमेरिकी अधिकारीहरुलाई गलत रिपोर्ट गरेको समेत उल्लेख गरेको न्याय विभागले बताएको छ ।
चाइना टेलिकमले अमेरिकी रेकर्ड भन्डारण गरेको र साइबर सुरक्षासमेत प्रवन्ध गरेकाले अमेरिकामा अझ बढी सुरक्षा संवेदनशीलता रहेको पनि न्याय विभागले बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा संलग्न विदेशी टेलिकम कम्पनीहरुसंग सम्बन्धित राष्ट्रिय सुरक्षा चिन्ताबारे समीक्षा गर्न निकाय गठन गरेको पाँच दिनपछि न्याय विभागको यो निर्णय सार्वजनिक भएको हो ।
Leave a Reply