काठमाडाैँ । लकडाउनपश्चात सीमा बन्द भएपछि भारतको झुलाघाटका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई बसोबासको समस्या भएको छ । क्वारेन्टाइनमा बसेका नेपालीलाई खानपिनको व्यवस्था भारतीय प्रशासनले गरेको भए पनि उनीहरु एकै कोठाको भुइँमा बस्नुपर्ने बाध्यता रहिआएको छ । सीमानाका बन्द भएपछि अलपत्र परेका नेपालीलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा राखेको हो ।
दुई सय ५१ नेपाली मजदूरलाई झुलाघाटको तालेश्वर धर्मशाला, खरक्युडा, रज्युडा र जामीरपानीका आधारभूत विद्यालयका क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका नेपाली मजदूर आफैँसँग भएको कपडा बिछ्याएर भुइँमै सुत्न बाध्य भएको भारतबाट फर्केका सुर्नया–८ का मानबहादुर बोहराले बताए । उनले भने, “क्वारेन्टाइनमा कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहिआएको छ ।”
झुलाघाटका तीन ठाउँमा बसिरहेका नेपाली मजदूरले एकै कोठामा कोचाकोच गरेर बस्नुपरेको बताएका छन् । खानाको लागि भारत सरकारले व्यवस्था गरेको भए पनि बसोबासको भने निकै समस्या भएको पुरचौंडी नगरपालिका–३ न्वादेउका जोगे पार्कीले गुनासो गरे । “एकै विद्यालयमा ८५ जना बस्नु परिरहेको छ”, उनले भने, “हामीसँग भएको कपडा बिछ्याएर रात काट्नुपर्ने बाध्यता छ ।” स्वदेश फर्कन पाए एक महिना भने पनि क्वारेन्टाइनमा बस्न तयार भएको मजदूरले बताएका छन् ।
भारतमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई समस्या भएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए । क्वारेन्टाइनमा बसेका नेपालीको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।
Leave a Reply