Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • महामारीको राहत लुटधन्दामा परिणत : सडेको खाद्यान्न र आलुको भुक्तानी दोब्बर

    महामारीको राहत लुटधन्दामा परिणत : सडेको खाद्यान्न र आलुको भुक्तानी दोब्बर

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 3.1K
    SHARES

    बारा । कोभिड १९ फैलिन सक्ने त्रासले देश १८ दिनदेखि लकडाउनमा छ । लकडाउनमा ज्यालामजदुरी गर्ने र अति विपन्न परिवार खाद्यान्नका कारण भोकभोकै नपरुन् भनेर संघीय सरकारले स्थानीय तहमार्फत राहत बितरणको ब्यवस्था गर्न निर्देशन दिएको छ ।

    सरकारले प्रमुख जिल्ला अधिकारीको संयोजनमा उद्योग बाणिज्य महासंघसँग समन्वय गरी मूल्य सूची तय गरी स्थानीय निकायले राहत खरिद गरी बितरण गर्न निर्देशन दिएको छ । तर, कतिपय स्थानीय निकायले उद्योग बाणिज्य संघसँग समन्वय नगरी मनपरी मूल्यमा खाद्यान्न लगायतका रासन खरिद गरी राहत बितरण गरेका छन् । कुहिएको दाल र गुणस्तरहीन चामलसमेत बितरण गरिएको छ । जसका कारण स्थानीय फुड प्वाइजनको शिकार हुने खतरा बढेको छ ।



    बाराको कलैया नगरपालिकाका मेयर राजेश राय यादवले कुहिएको दाल बितरण गरिएको भनी बिरोध भइरहेको छ । र, उनले बितरण गरेको राहत गुणस्तरहीन भएकाले फिर्ता गर्ने अभियान नै चलेको छ ।



    कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले यस अवसरलाई सेवा भन्दा पनि गुणस्तरहीन रहरको दाल र महँगोमा आलु बेच्नका लागि उपयोग गरेका छन् । अर्थात् संकटमा कमाउने अवसरको रुपमा उपयोग गरेका छन् ।

    कलैया उपमहानगरपालिका प्रमुख यादवे अहिलेको अवस्थामा पनि नगरवासीहरुलाई खाद्यान्न समग्री बितरणको नाममा कालोबजारी गरेर रकम कमाउने धन्दामा लागे पनि बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितले उल्टै नगर प्रमुख यादवलाई आर्थिक लाभको लागि संरक्षण गरिरहेका छन् ।

    कलैया उपमहानगरपालिकाले बितरण गरिरहेको खाद्यान्न समग्रीमध्ये चामल, दाल, आलु नगर प्रमुख यादवले अधिकांश वडाहरुमा आफ्नै कम्पनीमार्फत् सप्लाई गराइरहेको वडा अध्यक्षहरुले बताएका छन् ।
    चामल नजिकका राईस मिलहरुबाट बजार मूल्यभन्दा केही महँगोमा आपूर्ति गराएका छन् भने कतिपय वडाहरुमा न्यून गुणस्तको रहरको दाल र आलु आफै बिक्री गरेर ठूलो रकम कमाउने खेलमा प्रमुख यादव लगेका छन् ।

    नगरप्रमुख यादवको आफ्नै यादव कोल्डस्टोर छ । डेढ महिना पहिला १८ देखि २२ रुपैयासम्म प्रतिकिलोको दरमा यादव कोल्डस्टोरमा राखेको आलु ३५ देखि ४० रुपैयाँमा मेयर यादवले राहतका रुपमा हरेक वडामा बितरण गर्न लगाएका छन् ।

    र, नगरपालिकाबाट कोल्डस्टोरलाई भुक्तानी दिनेगरी आलु आफ्नै कोल्डस्टोरको बितरण गरेका छन् । मेयर यादवको कलैया उपमहानगरपालिका ७ रंगपुरमा रहेको यादव कोल्डस्टोरमा राखेको आलुलाई अहिले हरेक वडालाई ३५ देखि ४० रुपैयाँ प्रतिकिलोमा राहतका रुपमा बितरण गर्न लगाइएको छ । यद्यपि मेयर यादवले आफूले ३५ देखि ३७ रुपैयाँ प्रतिकिलो आलु राहतका लागि बितरण गर्न बिक्री गरेको बताएका छन् ।

    त्यसैगरी गुणस्तरहीन रहरको दाललाई सस्तोमा खरिद गरेर प्रतिकिलो एक सय २० रुपैयाँको दरले वडा अध्यक्षहरुमार्फत् बिक्री गरेर कलैयावासीलाई बितरण गराइरहेको एक वडाअध्यक्षले बताएका छन् । उपमहानगरपालिकाले ४ बर्षअघि एक ब्यापारीले राखेको रहरको दाल जुन सडिसकेको छ, त्यो राहतका रुपमा प्रत्येक वडामा बितरण गर्ने कार्यको चौतर्फी बिरोध भइरहेको छ ।

    वडा नम्बर २२ मा त गुणस्तरहीन दाल र खाद्यान्न दिएको भनी स्थानीयले फिर्ता नै गर्न सुरु गरेका छन् । मेयरको घर भएको आफ्नै वडा नम्बर ७ मा पनि केही दिनअघि बितरण गरिएको राहत गुणस्तरहीन भएको भन्दै बिरोध भइरहेको छ ।

    समाजवादी पार्टीका नेता तथा संविधानसभा सदस्य प्रमोद गुप्ताले सामाजिक संजालमै कलैया उपमहानगरपालिकाले गुणस्तरहीन खाद्यान्न बितरण गरेको भन्दै संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

    कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हरिओम साह सोनारले राहतमा बितरण भैरहेको खाद्यान्नमध्ये केही यादव कोल्डस्टोरबाट र केही बजारबाट खरिद गरिल्याएको प्रतिक्रिया दिएका छन् ।

    यादव कोल्ड स्टोरबाट किनेका आलु र रहरको दल बजार मूल्यकै हाराहारीमा रहेको र पछि नगर प्रमुख यादवबाट बिल लिएर उपमहानगरपालिकामा पेश गर्ने योजना रहेको वडा अध्यक्ष सोनारले बताएका छन् ।

    बारा उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद साहले राहतमा बिक्री गर्ने सोना मन्सुलीको चामलको मूल्य दर प्रतिकिलो ४० रुपैयाँ बारा उद्योग बाणिज्य संघले तोके पनि कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले ४१ रुपैयाँ ५० पैसा खरिद गरेको आरोप लगाएका छन् ।

    चामलको मूल्य उवासंघले तोकेभन्दा बढी नगरपालिकाले तय गरेपछि ब्यापारीहरुले उद्योगी ब्यापारीले आफ्नो बिरोध गरेको उनको गुनासो छ । अध्यक्ष साहले नगर प्रमुख यादवले गुणस्तरहीन रहरको दल बिक्री गरेर वडा अध्यक्षहरुमार्फत राहत बितरण गराएका छन् ।

    सडेको दाल राहतका रुपमा बितरण गरेकोबारेमा बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितले यस बिषयमा चासो नलिएको गुनासो गरेका छन् । कलैया उपमहानगरपालिकाबाट करोडौं मूल्यको खाद्यान्न समग्री खरिद गर्दा पारदर्शीता नभएको उनको भनाइ छ ।

    कमिसनको कारणले गर्दा पारदर्शी तरिकाले कुनै पनि खरिद नगरिएको र उद्योग बाणिज्य संघसँग पनि समन्वय गरिएको छैन । मनपरी गरिएको छ । जबकि संघीय सरकारले जिल्ला उद्योग बाणिज्य संघसँग समन्वय गरी मूल्यसूची बनाएर त्यसअनुसार खरिद गर्न निर्देशन दिएको छ । तर कलैयाका मेयरले उद्योग बाणिज्य संघसँग समन्वय नै नगरेको उनले बताए ।

    बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितले कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले आफ्नै यादव कोल्ड स्टोरबाट महँगोमा आलु र गुणस्तरहीन रहरको दाल बितरण गरेको तथा आफ्नै कोल्ल्डस्टोरबाट वडामार्फत् सामग्री बितरण गराएको गुनासो कसैले नगरेको तर्क गरे ।

    आफूले आर्थिक प्रलोभनमा परी कालोबजारी गर्ने र गुणस्तरहीन दाल बिक्री गर्ने कलैया उपमहानगरपालिका प्रमुख यादवलाई संरक्षण गरेको कुरा निराधार भएको र यसलाई कसैले प्रमाणित गर्न नसक्ने उनले बताएका छन् ।

    कलैया उपमहानगरपालिकाभित्रमा रहेको २७ वटा वडाहरुमा १६ हजार घरधुरी परिवारलाई १५ किलो चामल, एक किलो दाल, पाँच किलो आलु, एक किलो नुन लगायत खाद्यान्न सामग्री बितरण भैरहेको कलैया उपमहानगरपालिकाले जनाएको छ.।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार