Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • महामारीमा पनि हाम्रो पहिलो प्राथमिकता देश र जनता नै हुन : एसएसपी उत्तमराज सुवेदी

    महामारीमा पनि हाम्रो पहिलो प्राथमिकता देश र जनता नै हुन : एसएसपी उत्तमराज सुवेदी

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 4.2K
    SHARES

    विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेको छ । चैत ११ गतेबाट शुरु भएको लकडाउन बैशाख ३ गतेसम्मका लागि तोकिएको छ । अहिलेसम्म कोरोनाका कारण विश्वभर ९५ हजार  भन्दा बढिको मृत्यु भइसकेको छ भने १६ लाख बढी संक्रममित भएका छन् । यस्तो भयावह अवस्थामा नेपाल प्रहरीले भने २४ घण्टा नै सेवा प्रदान गरेर सह्राहनीय काम गरेको छ । यो चुनौतीपूर्ण अवस्थामा महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी परिवारका लागि समय नदिइ देश र जनताका लागि अहोरात्र खटिरहेका छन्।

    विश्वकै शक्तिशाली नेता चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा सुरक्षा प्रबन्ध मिलाउनेदेखि चिनियाँ ह्याकरको गिरोहलाई ठेगान लगाएका एसएसपी सुवेदी प्रहरी सङ्गठनभित्र हक्की, निडर र इमान्दार अफिसरका रुपमा चिनिन्छन । उनले १३औँ दक्षिण एसियाली सङ्गठन (साग) खेलको सुरक्षाको व्यवस्था पनि राम्रोसँग गर्दा कुनै घटना हुन पाएन । एसपी छँदा पाल्पा, स्याङ्जा ,दोलखा, धनुषा, सर्लाहीको इन्चार्ज भएर सफलतापुर्वक जिम्मेवारी निभाएका सुवेदीले तराइका डन सञ्जय टक्लालाई पक्राउ गरेर चर्चा कमाएका थिए।



    ६ जिल्लाको इन्चार्ज सम्हाल्दाको अनुभवले पनि उनलाई काठमाडौँ हाँक्न सजिलो भएको छ । अहिले कोरोना महामारीको डरलाग्दो अवस्थामा  काठमाडौं प्रहरीले कसरी सुरक्षा व्यवस्थापन गरिरहेको छ भन्ने विषयमा  एसएसपी उत्तमराज सुवेदीसँग अनलाईन नेपालका लागि कुमार भण्डारीले गरेको कुराकानी :



    ० लकडाउनका बेला तपाईको दैनिकी कसरी चलिरहेको छ ?
    – आम सर्वसाधरणहरुलाई जस्तै हामीहरुलाई चाहिं लकडाउनका बेला घरमै बस्ने अनुमती छैन । मेरो व्यक्तिगत कुरा गर्ने हो भने देश र जनताको सुरक्षाको कसम खाएर प्रहरी सेवा शुरु गरेकाले अहिलेपनि १२ घण्टाभन्दा बढि काम गरिरहको छु । लकडाउनका कारण कार्यालयमा त्यति धेरै सेवाग्राही नआए पनि विहान ५ बजे उठेदेखि बेलुका नसुतेसम्म म फुर्सदिलो छैन । अहिलेको अवस्थामा प्रहरीले २४ घण्टा नै डिउटी गरिरहेको छ । लकडाउन उल्लंघन हुन नदिनका लागि व्रिफिङ गर्नेदेखि सोसल डिस्टान्स मेन्टेन गर्नेसम्मको काममा आफ्ना मातहत रहेका प्रहरीहरुलाई परिचालन गर्नु अहिलेको मेरो पहिलो कर्तव्य हो र त्यसलाई निभाइरहेको छु । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न महानगरीय प्रहरी परिसर २४ घण्टा नै सेवा प्रदान गरिरहेको छ ।

    यो लकडाउनका बेला मैले परिवारका लागि कुनै पनि समय दिएको छैन । यो विषम परिस्थितिमा मैले आफ्नो पुरै समय देश र जनताका लागि सुम्पेको छु । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने र हाम्रो काम बाहिर नै हुने भएकाले परिवार, आफन्त र छिमेकीहरुको स्वास्थ्यलाई ख्याल गरेर ब्यारेकमा नै बस्ने गरेको छु ।

    ० परिसरमा चाहिं कोरोनाको संक्रमण रोकथामका लागि के–कस्ता काम भएका छन् त ?
    – तपाईले यहाँ आउँदा देखिहाल्नु भयो । बाहिर नै हामीले साबुन पानीले हात धुने व्यवस्था मिलाएका छौं । कोरोनाबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको घर बाहिर ननिस्किनु नै हो । कथंकदाचित कुनै महत्वपूर्ण कामले बाहिर निस्कनु परेमा साबुन पानीले राम्रोसँग हात धुने र सेनिटाइजर प्रयोग गर्नुपर्छ । हामीले कार्यलयमा यो दुबै सुविधा उपलब्ध गराएका छौं । त्यसका साथसाथै हामीले सोसल डिस्टान्स कायम गर्नका लागि कार्यालयभित्र पनि प्रहरी अधिकारीहरुलाई आग्रह गरेका छौं । खाना खाँदा र सुत्दा पनि दूरी कायम गराएका छौं ।

    ० लकडाउनको बेला कार्यालयमा चाप चाहिं कत्तिको छ ?
    – अहिलेको अवस्थामा कार्यालयमा चाप हुने कुरै भएन । थुनुवाहरु पनि एकदमै न्यूनतम भएकाले परिसर भित्र कोरोना संक्रमणको खतरा एकदमै न्यून रहेको छ । कतिपय सेवाग्रहीहरु त आउनु नै भएको छ । उहाँहरुलाई पनि हामीले दूरी कायम गराएर मात्रै सेवा दिइरहेका छौं । हामी त गाडीमा हिडिरहनु पर्ने भएकाले अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र बेला बेलामा सेनिटाइजर प्रयोग गर्ने गरिरहेका छौं ।

    ० प्रहरीको काम नै बाहिर हिड्नुपर्ने भएकाले आफ्नो परिवारको सुरक्षाका लागि चाहिं व्यक्तिगत तर्फबाट के गर्नु भएको छ ?
    – यो लकडाउनका बेला मैले परिवारका लागि कुनै पनि समय दिएको छैन । यो विषम परिस्थितिमा मैले आफ्नो पुरै समय देश र जनताका लागि सुम्पेको छु । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने र हाम्रो काम बाहिर नै हुने भएकाले परिवार, आफन्त र छिमेकीहरुको स्वास्थ्यलाई ख्याल गरेर ब्यारेकमा नै बस्ने गरेको छु । मातहतका प्रहरीहरुलाई पनि सकेसम्म ब्यारेकमा नै बस्न आग्रह गरेको छु । व्यारेकमा पनि दूरी कायम गरेर सुत्ने र खाने व्यवस्था गरिएको छ । यसरी बस्दा बस्दै पनि कोही कसैलाई ज्वरो आएमा वा कोरोना संक्रमणको आशंका लागेमा परिसर भित्र छुट्टै क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने मातहतका कार्यालयमा पनि एउटा छुट्टै कोठादेखि शौचालयसम्मको व्यवस्था मिलाइएको छ । त्यसरी बस्दा पनि कम भएन र ज्वरो आइरह्यो भने नेपाल प्रहरी अस्पतालको क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाएका छौं ।

    ० लकडाउनका बेला सबैभन्दा ठूलो जिम्मेवारी प्रहरीमाथि छ, यस्तो अवस्थामा कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
    – लकडाउन भनेको एक किसिमले ‘सफ्ट कफ्र्यु’ नै हो । यस्तो अवस्थामा मानिसहरु हिड्नेदेखि लिएर सम्पूर्ण कलकारखाना र पसलहरु बन्द हुने अवस्था रहन्छ । तर, लकडाउन र कफ्र्युको उद्देश्य भने फरक हुन्छ । कफ्र्यु भनेको दंगा नियन्त्रणका लागि हुन्छ भने लकडाउनमा चाहिं समूह नभई एक व्यक्तिबाट अर्को व्यक्तिमा दूरी कायम होस् भन्ने हुन्छ । मैले अघि पनि भने देश र जनताको सुरक्षाको जिम्मेवारी बोकेर प्रहरी सेवामा प्रवेश गरिएको हुँदा हाम्रो पहिलो प्राथमिकतामा देश र जनता नै हुनुहुन्छ ।
    तर, लकडाउनका बेला हामीलाई व्यवस्थापन गर्न एकदमै कठिन छ । सरकारले लकडाउनमा जनतालाई घरबाट बाहिर निस्कन बन्देज लगाएको छ । तर, कतिपय अवस्थामा बाहिर निस्कनै पर्ने हुन्छ । सारो, गाह्रो, अप्ठेरो सबैलाई पर्छ । कतिपय अवस्थामा दैनिक उपभोग्य सामान खरिदका लागि पनि बाहिर निस्कनु पर्ने परिस्थिति आउन सक्छ । त्यो अवस्थामा हामीले जनतालाई सम्झाउँदै आएका छौं । त्यसो त दैनिक उपभोग्य सामानहरुको(जस्तैःतरकारी) उत्पादन, आयत र निर्यातका काममा पनि स्थानीय सरकार र जनतासँगको सहकार्यमा हामीले प्राथमिकतामा राखेर व्यवस्थापन मिलाउँदै आएका छौं ।

    ० दैनिक उपभोग्य सामानहरुको व्यवस्थापनका लागि प्रहरीले कस्तो काम गरिरहेको छ त ?
    – दैनिक उपभोग्य सामान बोक्ने गाडीहरुलाई चेक जाँच गरी पठाउने र पसलहरुमा पनि दूरी कायम गरी किनबेच गर्नका लागि आग्रह गरेका छौं । कतिपय स्थानमा त मार्किङ नै गरेर दूरी कायम गराउने प्रयास गरेका छौं ।

    ० तर, प्रहरीले समस्यामा परेर बाहिर निस्केकाहरुलाई विना कारण रोकेर दुःख दियो भन्ने जनगुनासा पनि आइरहेका छन् नि ?
    – जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा दिनेहरुलाई पास उपलब्ध गराएको छ । सबैलाई पास उपलब्ध गराउन सम्भव छैन । यस्तो अवस्थामा हामीले उहाँहरु(बाटोमा हिड्नेहरु) को अवस्थालाई मध्यनजर गर्दै सेवा दिइरहेका छौं । जस्तैः कसैको इमरजेन्सी अस्पताल जानुपर्ने अवस्था, आफन्तको मृत्यु भएको अवस्थालगायतमा उहाँहरुको मागलाई ध्यानमा राखेर काम गरिरहेका छौं । यति हुँदा हुँदै पनि सुरक्षाकर्मीका कारण कुनै व्यक्ति रोकिनु पर्ने अवस्था आयो भने १०० मा फोन गर्ने वित्तिकै हामीले त्यसलाई व्यवस्थापन मिलाउनेछौं । जहाँ समस्या छ त्यहाँ हामी पुग्छौं । तर, मेरो के आग्रह छ भने हुँदै नभएको समस्या बनाएर चाहिं नआईदिनु होला । यो हाम्रो लागि होइन् तपाईहरुकै लागि हो ।
    शुरु शुरुका दिनमा विनाकारण समस्या देखाउनेहरुका कारण वास्तविक समस्या भएकाहरुले दुःख पाएको फाट्ट फुट्ट सुनिए पनि अहिले भने त्यस्तो अवस्था छैन । अर्को समस्या बुझाउने प्रहरी र बुझ्ने सेवाग्राहीबीच ‘मिस अण्डरस्ट्यान्डिङ’ हुँदा पनि यस्तो समस्या देखिएको हो । तर, अहिले त्यस्तो समस्या निर्मुल भइसकेको छ ।

    ० लकडाउनको समयमा सडकमा खटिने प्रहरीहरुको ‘डिउटी आवर’ अलि बढि भएको हो ?
    – सामान्यतयाः अहिलेको डिउटी आवर भनेको ८ घण्टा नै हो । तर, यस्तो अवस्थामा हामीले जसरी पनि व्यवस्थापन गर्नु पर्ने भएकाले कुनै बेला ४–५ घण्टा आराम गरेर पुनः काममा फर्कनु पर्ने अवस्था छ । नेपाल प्रहरीभित्र केही पद खाली हुनु र कतिपय प्रहरीहरु तालीममा भएको हुँदा यो अवस्था आएको हो । तर, हामीले व्यवस्थापन भने गरिरहेका छौं ।

    लकडाउनको अहिलेको अवस्थामा त्यस्तो ठाउँमा सेवा प्रदान गर्न जाने प्रहरीहरुको सुरक्षाका लागि हामीले २५० सेट पीपीईको व्यवस्थापन गरेको छौं । जसले गर्दा कोही विरामीलाई लिएर अस्पतालसम्म जानु परेपनि सुरक्षाको हिसाबले हामी सक्षम भएर बसेका छौं । प्रहरी कर्मचारीहरुलाई पनि दूरी कायम गरेर सेवा प्रदान गर्न आग्रह गरेका छौं ।

    ० परिसरले सडकमा खटिएका प्रहरीहरुको सुरक्षाको लागि कस्तो व्यवस्था गरेको छ ?
    – जो प्रहरीहरु सडकमा खटिनु भएको छ, उहाँहरुको सुरक्षाका लागि हामीले मास्क अनिवार्य प्रयोग गर्ने, बेला बेला सेनिटाइजर प्रयोग गर्ने र दूरी कायम गर्न लगाएका छौं । त्यसको साथसाथै कुनै घटना भएको ठाउँ, विरामी भएको ठाउँ र जुनसुकै अप्ठेरो परिस्थितिमा सबैभन्दा पहिले प्रहरीलाई नै बोलाइन्छ । हुनत विरामी भएको ठाउँमा एम्बुलेन्स जानुपर्ने हो तर, अप्ठेरो अवस्थामा सबैभन्दा पहिले पुग्ने भनेको प्रहरी नै हो र प्रहरीले नै एम्बुलेन्सको व्यवस्थापन गर्छ । लकडाउनको अहिलेको अवस्थामा त्यस्तो ठाउँमा सेवा प्रदान गर्न जाने प्रहरीहरुको सुरक्षाका लागि हामीले २५० सेट पीपीईको व्यवस्थापन गरेको छौं । जसले गर्दा कोही विरामीलाई लिएर अस्पतालसम्म जानु परेपनि सुरक्षाको हिसाबले हामी सक्षम भएर बसेका छौं । प्रहरी कर्मचारीहरुलाई पनि दूरी कायम गरेर सेवा प्रदान गर्न आग्रह गरेका छौं ।

    यो महामारी भनेको नेपालका लागि मात्रै नभई संसारकै चुनौतीको रुपमा देखिएको छ । यसको अन्त्य कहिले र कहाँ हुन्छ भन्ने नै यकिन नभएको अवस्थामा यसको सबैभन्दा ठूलो औषधी भनेकै घरबाट बाहिर ननिस्किनु नै हो । त्यसैले आम सर्वसाधरणहरुलाई सकेसम्म घरमै बस्न आग्रह गर्दै लकडाउनलाई सफल पारिदिनुहुन अनुरोध गर्दछु ।

    ० मुख्य सडकमा मानिसहरु नदेखिए पनि भित्री सडकहरुमा चाहिं अहिले पनि मानीसहरुको हुल देख्न सकिन्छ । यस्तो अवस्थामा प्रहरीले कसरी व्यवस्थापन गरिरहेको छ ?
    – दैनिक उपभोग्य सामानदेखि औषधी पसलहरु भित्री सडकहरुमा हुने भएकाले केही मानिसहरु देखिनु स्वभाविक नै हो । तर, भिड नै लागेको खण्डमा हामीले त्यसलाई व्यवस्थापन गर्न शुरु गरिसकेका छौं । मैले अघि पनि भने पसलमा किनबेच गर्दा दूरी कायम गर्नेदेखि मार्किङ गर्नेसम्मको काम भइरहेकाले अबका दिनमा भित्री सडकमा पनि त्यस्तो हुँदैन । यति गर्दागर्दै पनि विना कारण हिड्नेहरुलाई हामीले दैनिक ३ देखि ४ हजारलाई दुई घण्टा होल्ड गरेर सम्झाई बुझाई पठाउने गरेका छौं । अबका दिनमा त्यस्तो भिड नियन्त्रण हुन्छ र गर्छौं ।

    ० अन्त्यमा आम सर्वसाधरणलाई के भन्नुहुन्छ ?
    – कहि कतै छिटपुट घटना देखिए पनि लकडाउनका बेला आम सर्वासाधरणले हामीलाई पनि सहयोग गर्नु भएकै छ । सरकारको आग्रहलाई उहाँहरुले पालना गर्नु भनेको हामीलाई सहयोग गर्नु हो । सर्वसाधरणबाट सहयोग नहुने अवस्था आएको खण्डमा हामीले बल प्रयोग गर्नुपर्ने हुन्छ । अहिलेसम्म त्यस्तो अवस्था सृजना भएको छैन । यो महामारी भनेको नेपालका लागि मात्रै नभई संसारकै चुनौतीको रुपमा देखिएको छ । यसको अन्त्य कहिले र कहाँ हुन्छ भन्ने नै यकिन नभएको अवस्थामा यसको सबैभन्दा ठूलो औषधी भनेकै घरबाट बाहिर ननिस्किनु नै हो । त्यसैले आम सर्वसाधरणहरुलाई सकेसम्म घरमै बस्न आग्रह गर्दै लकडाउनलाई सफल पारिदिनुहुन अनुरोध गर्दछु ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार