Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सरकारी ठेक्कामा ओम्‍नीको वर्चस्व!

    सरकारी ठेक्कामा ओम्‍नीको वर्चस्व!

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौँ । ओम्नीले ३ वर्षअघि जनक शिक्षा सामग्री केन्द्रको कागज छपाइ, निर्वाचन आयोगको सामान आपूर्ति र मतदाता परिचयपत्र बनाउने जिम्मा पाएको थियो । सरकारी ठेक्कामा ओम्नीका लागि यी सुरुवाती यात्रा थिए तर ओम्नीले कतै पनि चित्तबुझ्दो काम गरेको थिएन ।

    जनक शिक्षाको ९० प्रतिशत ‘ह्वाइट’ भएको कागज किन्नुपर्ने सर्त भए पनि ८३ प्रतिशत मात्रै ‘ह्वाइट’ भएको कागज आपूर्ति गरेको भन्दै गुणस्तर तथा नापतौल विभागले परीक्षण गरेको थियो। त्यसपछि प्रक्रिया कहाँ पुग्यो, कसैलाई थाहा छैन। ‘ओम्नीले भने तीन वर्षदेखि झन्डै ५० करोडका दरले जनक शिक्षा सामग्री केन्द्रका लागि कागज खरिद गरिरहेको छ,’ ओम्नीका ती कर्मचारीले भने, ‘गुणस्तरको कुरा छाडिदिनुस्, तीन वर्षयता जनक शिक्षाले कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक नियमित समयमा छापिरहेको छ।’



    यही बेला ओम्नीले निर्वाचन आयोगको मतपत्र छपाइ र सामान आपूर्तिको ठेक्का लिएको थियो। तत्कालीन निर्वाचन आयुक्तहरू अयोधीप्रसाद यादव र ईला शर्मासँगको विशेष सम्बन्धका आधारमा ओम्नीले निर्वाचन आयोगबाट कार्ड छपाइको काम लिएको थियो। इलाकी जेठी छोरी साक्षी पौडेलले जागिर ओम्नीमै सुरु गरेकी थिइन्। भारतको एक बैंकमा जागिर पाएपछि उनले ओम्नी छाडेकी थिइन्। स्वास्थ्य सामग्री खरिद र अन्य थुप्रै परियोजनामा विवादास्पद ढंगले काम गरेको ओम्नीलाई निर्वाचन आयोगले महँगोमा मतदाता परिचयपत्र छाप्न दिनुका साथै छपाइको काम सकिएपछि ओम्नीबाटै प्रिन्टर खरिद गरेको खुलेको छ।



    ‘ओम्नीले प्रिन्टर ल्याएर मतदाता परिचयपत्र छापिदियो र काम सकिएपछि आयोगले प्रिन्टर खरिद गर्ने टेन्डर निकाल्यो,’ खरिद प्रक्रियाबारे जानकार आयोगका एक कर्मचारीले भने, ‘ओम्नीले आयोगलाई प्रयोग भइसकेको प्रिन्टर बिक्री गर्‍यो।’

    आयोगले तेस्रो चरणको स्थानीय तहको मतदानका लागि परिचयपत्र छपाउन ओम्नीलाई २०७४ साउन १२ गते प्रति परिचयपत्र ९ रुपैयाँ ९९ पैसामा ठेक्का दिएको थियो। ओम्नीले मतदाता परिचयपत्र छाप्न लागत महँगो पर्ने भन्दै प्रतिथान १४ रुपैयाँमा मात्रै उपलब्ध गराउन सक्ने भन्दै साउन १४ मा निवेदन दियो। ओम्नीको निवेदनअनुसार आयोगले १३ रुपैयाँ ५० पैसामा छाप्न जिम्मा दियो। आयोगले फेरि प्रदेशसभा सदस्य निर्वाचनका लागि १३ रुपैयाँ ५० पैसाकै दरमा २१ लाख ७० हजार ९ सय ८५ थान मतदाता परिचयपत्र छाप्ने जिम्मा ओम्नीलाई नै दियो।

    आयोगले स्थानीय तहको दुई चरणको निर्वाचन सकिएपछि मतदाता नामावली छाप्ने भन्दै ओम्नीबाटै बिनाप्रतिस्पर्धा फेरि साढे २४ करोडभन्दा बढी मूल्यमा प्रिन्टर खरिद गरेको थियो। आयोगले तेस्रो चरणको स्थानीय तहको निर्वाचन र प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रयोग हुने रंगीन र सादा मतदाता नामावली छाप्न १३ थान प्रिन्टर बिग्रिएको भन्दै ओम्नीबाट १ थान रंगीन प्रिन्टर, २ थान श्याम श्वेत प्रिन्टर २४ कराड ५३ लाख ९ हजारमा खरिद गरेको थियो।

    ती प्रिन्टर जडान गर्न ढिलाइ भएको भन्दै प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र जनक शिक्षा सामग्री केन्द्रलाई छाप्ने जिम्मा दिएको थियो। ‘ओम्नीले प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरूलाई निकट राखेर सियोसमेत अरू कम्पनीबाट खरिद गर्न नसक्ने बनाएको थियो,’ आयोगका एक कर्मचारीले भने। कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार