Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कास्कीमा पासको चरम दुरुपयोग

    पोखरामा समानान्तर पास जारी, सिडियो कार्यालयलाई वडाले दियो चुनौती

    पोखरामा समानान्तर पास जारी, सिडियो कार्यालयलाई वडाले दियो चुनौती

    यदुनाथ बन्जरा
  • बुधबार, २६ चैत्र २०७६
  • 6.2K
    SHARES

    कास्की। लकडाउनको समयमा कास्कीमा पासको चरम दुरुपयोग भएको खुलेको छ। पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जिल्ला प्रशासन कार्यालय कास्कीले दिएको सवारी पास प्रयोग गर्दै आएका छन् ।

    तर. उही महानगरका वडा अध्यक्ष भने आफैले सवारी पास जारी गर्दै आएको खुलासा भएको छ । पोखरा महानगरपालिका वडा नं. ३३ का वडाअध्यक्ष शिव प्रसाद आचार्यले आफै हस्ताक्षर गरेर पास दिने गरेको फेला परेको छ ।



    चैत्र २३ गते अध्यक्ष शिव प्रसाद आचार्यले हस्ताक्षर गरेको पास कास्की प्रहरीले चेकिङका क्रममा वरामद गरेपछि कास्की जिल्लामा समानान्तर पास जारी भएको रहस्य वाहिर आएको थियो ।



    वडा नं. ३३ का वडाअध्यक्ष शिव प्रसाद आचार्यले आफै हस्ताक्षर गरेर दिएको पास

    वडा अध्यक्षले जारी गरेको पासमा योगराज अधिकारीलाई भरतपोखरीबाट लामाचौर सम्म जान आउन चैत्र २३ गते विहान ९ वजे देखि साँझ ५ वजेसम्म सवारी पास दिइएको व्यहोरा उल्लेख गरिएको छ।

    कोरोना महामारीलाई परास्त गर्न लकडाउन गरिएको वेलामा अत्यावश्क मात्र सवारी सञ्चालन गर्ने हेतुले जिल्ला प्रशासन कार्यालयलाई मात्र सवारी पास दिने अधिकार दिइएको छ । कास्कीमा मात्र हैन नेपालका ७७ वटै जिल्लामै सवारी पास दिने अख्तियारी जिल्ला प्रशासन कार्यालयलाई मात्र प्रदान गरिएको छ तर पोखरा महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष आचार्यलाई सवारी पास दिने अधिकार कसले दिएको भन्ने खुल्न सकेन ।

    यस वारेमा पोखरा महानगर पालिकाका सूचना अधिकारी भरत पौडेलसँग वुझ्दा सवारी पास दिने अधिकार जिल्ला प्रशासन कार्यालय वाहेक कसैलाई नदिइएको र दिन मिल्ने अवस्था पनि नरहेको वताए ।

    महानगर प्रमुख मान बहादुर जिसी स्वयमले जिल्ला प्रशासन कार्यालयको पास लिएर हिडिरहेको वेला वडा अध्यक्षलाई पास वितरण गर्ने अधिकार दिएको हो र भन्ने हाम्रो जिज्ञाशामा महानगरका प्रवक्ता धनबहादुर नेपाली कुनै वडा अध्यक्षलाई त्यस्तो अधिकार नदिएको र दिन नमिल्ने वताए । कसैले दया मायाले दिएको भए आफूलाई थाहा नभएको प्रवक्ता नेपालीले वताए ।

    यता समानान्तर पास जारी गर्ने वडा नं. ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय कास्कीले पास दिन नसकिने वताए पछि आफूले पास दिएको वताए ।

    विरामीको उपचार गर्न वैंकबाट पैसा निकाल्ने व्यक्तिलाई लामाचौरबाट न्यूरोड सम्म ल्याउनलाई पास दिएको वडा अध्यक्ष आचार्यले वताए । उनले यस्ता समानान्तर पास कति दिए भन्ने वारेमा वताउन चाहेनन् वरु पत्रकारहरुले आफ्नो लेवलको काम गर्न अर्ति दिएका थिए ।
    यसमा वडा अध्यक्षको आफ्नै गुनासो रहेको छ ।

    पास दिने कार्यालयले नागरिकको समस्या लिएर वडा अध्यक्ष आफै पास दिन वाध्य हुनु पर्ने अवस्था सिर्जना भएको छ । प्रशासन कार्यालयले स्थानिय जनप्रतिनिधिको कुरा नसुन्ने यता जनप्रतिनिधि आफै अनाधिकृत अधिकार प्रयोग गर्न थाल्ने यि दुवै विषयमा दुवै कार्यालयको कमजोरी हुन सक्छ । नागरिकको वास्तविक समस्या वुझ्नु दुवै निकायको दायित्व हो यसमा दुई सरकार वीचको समन्वय अपरिहार्य महसुस गरिएको छ ।

    स्मरणीय छ वडा नं. ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले केहि महिना अगाडि आफ्नो वडामा रहेको ग्रोवेल रहेको ठाउँमा डोजर लगाउन आफैले हस्ताक्षर गरेर अनुमती दिएका थिए । डोजर चलाउने अनुमती मेयर वा प्रमुख प्रशासकीय अधिकृतले मात्र दिन सक्छन् । वडाले सिफारिस मात्र गर्ने अधिकार राख्दछ ।

    कहिले मेयरको अधिकार आफै प्रयोग गर्ने त कहिले सिडियो कार्यालयको पास आफै जारी गर्ने वडा अध्यक्ष शिव प्रसाद आचार्य उल्टै पत्रकारलाई लेवलको काम गर्नु भन्दै आफूले गरेको काम ठीक भएको र पत्रकार नेगेटिभ भएर आफूलाई केहि फरक नपर्ने अभिव्यक्ति दिएका थिए ।

    कास्की प्रशासनद्धारा २०५५ सवारी पास जारी

    कोरोना महामारीबाट जोगिन र जोगाउन सरकारले अत्यावश्यक सेवा तथा कार्यलाई नरोक्न सवारी पास जारी गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत् जारी हुने सवारी पास कास्कीबाट कति संख्यामा कस्तो कस्तो व्यक्तिलाई दिइयो भन्ने आम नागरिकको जानकारी र जिज्ञाशाको विषय वन्ने गरेको छ ।

    प्रशासन कार्यालयमा पहुँच हुने कतिपय व्यक्तिहरुले सामान्य कामको लागि पनि पास लिएर घुम्ने गरेको त कतिपय अत्यावश्यक भएकाहरुले पनि पास नपाएर सास्ती हैरानी पाएको गुनासाहरु आइरहेका छन् ।

    केहि दिन अगाडि सरकारी कामको लागि सवारी पास लिएका उच्च अदालत पोखराका न्यायाधिश प्रमोद कुमार श्रेष्ठ वैद्य भारतमा रहेको छोरो लिन वीरगंज पुगेका थिए । तर, पर्सा प्रशासनले पासको प्रयोजन विपरित व्यक्तिगत (घरायसी) काम गरेको भन्दै सवारी नियन्त्रणमा लिएर अर्का पास दिएर पोखरा फर्काइदिएको थियो भने भरतपोखरीका योगराज अधिकारीलाई समस्या लिएर वडा अध्यक्ष स्वयम् आउँदा पनि पास नपाएर वडा अध्यक्ष आफै पास दिन वाध्य भएको खबर वाहिरिएका छन्।

    २०७६र१२र११ देखि १२र२२ सम्म ११ दिन सम्म कास्की प्रशासनबाट २०५५ वटा सवारी पास जारी गरिएको खवर जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

    जसमा उच्च अदालत, जिल्ला अदालत, सरकारी वकिल कार्यालय मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालय विभिन्न मन्त्रालय जिल्ला भित्रका सरकारी कार्यालय, खानेपानी विद्युत, टेलिफोन वैंक, सेना प्रहरी संचारकर्मी लगायत लाई पास वितरण गरिएको हामीलाई उपलव्ध गराएको सूचना विवरणमा जनाइएको छ ।

    सेना, प्रहरी र पत्रकारलाई आफ्नै परिचय पत्रबाट सवारी चलाउन पाईने व्यवस्था छ तर पनि २०५५ थान पास जारी हुनुले पास अत्यावश्यक आवश्यक र अनावश्यक सवैलाई वितरण गरिएको हुन सक्ने आवाज उठेको छ ।

    हामीले पास वितरण गरिएका पात्रहरुको नाम नामेसी विवरणको समेत सूचना माग गरेका थियौं तर कास्की प्रशासनले उक्त सूचना दिन अस्वीकार गरेको छ । जारी गरिएका पास चैत्र २५ गतेसम्म मात्र कायम रहने वताइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार