Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लकडाउनका बेला कालीमाटीमा रमिता

    लकडाउनका बेला कालीमाटीमा रमिता

    कुमार भण्डारी
  • सोमबार, २४ चैत्र २०७६
  • 3.5K
    SHARES

    काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएर महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण, नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउन अहिले पनि जारी छ ।

    चैत ११ गते बिहान ६ बजेदेखि लगाइएको लकडाउन २५ गतेसम्मका लागि तोकिएको छ । तरपनि कोराना संक्रमणको जोखिम कम नभएको भन्दै सरकारले आज पुनः एक साताका लागि लकडाउन थप गर्न सक्ने संकेत देखाइएको छ ।



    कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा आज दिउसो २ बजे बस्ने मन्त्रीपरिषद् बैठकले बैशाख ३ गतेसम्मका लागि लकडाउन थप गर्न सक्ने तयारी गरेको छ ।



    कोरोनाका कारण हालसम्म विश्वभर झण्डै ७० हजार जनाको मृत्यु भइसकेको छ । नेपालमा भने हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनालाई निको भइसकेको छ ।

    देशकै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा भने लकडाउन कार्यान्वयन हुन सकेको छैन । अत्यावश्यक खाद्य सामाग्री भन्दै सरकारले विहान २ बजेबाट ७ बजेसम्म तरकारी बजार खोल्ने निर्णय गरेको छ ।

    अहिले पनि तरकारी बजारमा छिरिनसक्नुको भिड देखिन्छ । तर, सरकारले यस विषयमा किन प्रभावकारी निर्णय गर्न सकेको छैन ?

    हुनत तरकारी बजारको गेटमा बसेका प्रहरीले पैदल यात्री र दुई पांग्रे सवारीसाधनमा आएकाहरुलाई बजार प्रवेश गर्न दिदैन । रातीको २ बजे पुगेका उपभोक्ता र बजारमा काम गर्ने मजदुरहरुमाथि प्रहरीको लाठी बर्साउँछ ।

    न त कोरोनाको त्रास, न त रातभरको निद्रा नै । परिवारसँग टाढा रहेर सच्चा देशभक्त बनेर काम गरिरहेका प्रहरीहरु नै सबैको दुष्मन बनिरहेका छन् यतिबेला । आफ्नो सुरक्षाको प्रवाह नगरी अरुको सुरक्षाका लागि खटिने प्रहरीलाई नै दुष्मन देखाउने वातावरण कसरी सृजना भयो ?

    त्यसो त रातीको २ बजे बजारमा जानु उपभोक्ताहरुको रहर त होइन होला नि ? तरकारी बजारमा तरकारी बेच्नु नै छ भने मजदुरलाई किन प्रवेश गर्न दिइन्न ? ६० किलो भन्दा बढिका आलुका बोरो बजार प्रवेश गर्न दिने चारपांग्रे सवारीसाधनमा चाहि कसले हाल्छ ? खोई बजार व्यवस्थापन समितिले बुझेको ?

    यसबारे गेटमा रहेका बजारका प्रतिनिधि र प्रहरीसँग कुरा गर्दा बजारका प्रतिनिधि अनावश्यक मान्छे छिरेकाले कडाई गरेको बताउँदै थिए भने प्रहरी बोल्ने फूर्सद छैन भन्दै झर्किदै थिए । कोरोनाका त्रासमा रातीको २ बजे अनावश्यक कामका लागि को जाँदो हो तरकारी बजार ?

    चारपांग्रेलाई प्रवेश गराउँदा कति सुरक्षित ?
    कालीमाटी तरकारी बजार विकास समितिले चारपांग्रे सवारीसाधनलाई मात्र बजार प्रवेश गर्न दिने निर्णय गरेसँगै २ बजे नै बजार भित्र पस्ने गाडीको लाईन कलंकी पुग्छ । १२ बजेदेखि नै गाडीहरु भित्र पस्नका लागि लाइन लाग्छन् । ६ बजे पछि प्रहरीले सबै व्यापारीहरुलाई पसल बन्द गर्न आग्रह गर्छन् तर, त्यतिबेलासम्म तरकारी लिनका लागि लाइन लागेका गाडीहरु नै प्रवेश गरिसकेका हुँदैनन् ।

    पैदल यात्रुलाई बजार भित्र प्रवेश गर्न नदिए पनि गाडीमा बजार पस्ने उपभोक्ताहरुको कमी छैन । बजार भित्र उत्तिकै भिड छ । यस्तो अवस्थामा कसरी हामी सुरक्षित छौं ।

    व्यापारीहरुले किन टेर्दैनन् लकडाउन ?
    सरकारले घोषणा गरेको लकडाउन व्यपारीहरुलाई चाहिं लाग्दैन भनेर हामीले प्रश्न गर्दा उनीहरुको एउटै जवाफ थियो – यो हाम्रो रहर होइन बाध्यता हो ? फेरि हामीले कस्तो बाध्यता भन्दै प्रश्न गर्यौं ? धेरै व्यापारीहरुको एउटै आवज थियो –‘के गर्नु किसानहरुले सामान पठाइरहेका छन् । नबेचौं भने पछि दिंदैनन् । अहिलेलाई बाँचे पैसा त कमाएकै छौं । लकडाउन भरी खानका लागि समस्या पनि छैन । तर, पछि त यहि काम गर्नुपर्छ । पछि सामान पाइएन भने कसरी व्यापार गर्ने ? यहि समस्याका कारण बजार आइरहनु परेको छ ।

    यस्तो अवस्थामा त सरकारले पुरै बन्द गर्नु पर्ने हो । बरु किसानबाट सान खुद्रा पसलमा तरकारीजन्य सामाग्री सिधै पठाउने व्यवस्था मिलाउन सके भिडभाड पनि हुदैन र सुरक्षित पनि हुन्थ्यो । त्यसका लागि खासै समस्या पनि छैन । तर, किन हो सरकारले वस्ता नै गर्दैन ।’

    दिउसो मात्रै हुन्छ संक्रमण ?
    देशकै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा २ बजेदेखि नै छिर्नै नसक्ने भिड हुन्छ । चैत १६ गते कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समिति, काठमाडौं महानगरपालिका, महानगरिय प्रहरी वृत कालिमाटी, बजारमा क्रियाशिल तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थालगायत अन्य सम्बन्धीत निकायहरुको प्रतिनिधीहरुको बैठकले दैनिक उपभोग्य तरकारी तथा फलफूलको सहजता तथा भिडभाड कम गर्न थोक तर्फको बजार बिहान २ बजेदेखि बिहान ७ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको थियो ।

    उक्त बैठकले बजारमा कारोवार गर्दा थोक कारोवार (क्रेट, बोरा, झोला जे जस्तो तौलमा प्याकिङ भएको छ सोही अबस्थामा बिक्री गर्नु पर्ने)मात्र गर्न पाउने, बजार हाता भित्र मोटरसाईकल र साईकल प्रवेशमा पूर्ण रोक लगाउने, बजारमा भारतीय नम्वरका सवारी साधान प्रवेशमा रोक गर्दै त्यहाँबाट आयतीत तरकारी फलफूल बिक्री बितरण गर्न नपाईने निर्णय गरेको थियो ।

    तर, कालीमाटी बजारमा पुग्दा न त त्यहाँ कोरोनाको संक्रमण रोक्न कुनै कदम चालेको पाइयो न त तरकारीको थोक कारोवार नै गरेको पाइयो । कालीमाटीको भिडभाड देख्दा सरकारले गरेको लकडाउन दिउसोका लागि र कालीमाटी बाहेक अन्य क्षेत्रका मानीसहरुका लागि मात्रै जस्तो देखिन्थ्यो । यस्तो अवस्थामा सरकारले सबैभन्दा पहिले कालीमाटी तरकारी बजार पूर्ण रुपमा बन्द गर्नुपर्छ । नभए भिड कम गर्न प्रभावकारी कदम चलाउन सक्नुपर्छ ।

    रातीको २ बजे कालीमाटी जानु बाध्यता
    लकडाउनका बेला तरकारीको मूल्य छोइनसक्नु छ । लकडाउमा बसेकाहरु घर छेउको पसलमा तरकारी किन्न पुग्दा कालीमाटीको भन्दा तीन गुणा महंगो पर्छ । आज कालीमाटीमा एक किलो कांक्रोको ५० रुपैयाँ छ । तर, उपत्यका भित्रकै इमाडोलमा भने किलोका १२० रुपैयाँ पर्छ ।

    त्यसो त कालीमाटीमा किलोको ३० रुपैयाँ रहेको गोलभेडा उपत्याकाका कतिपय स्थानमा पाउको ३० रुपैयाँ भन्ने गरेको पाइयो ।
    यस्तो बेला कालीमाटी बजार बन्द गरी किसानबाट तरकारी ल्याएर गाडीबाटै होम डेलेभरी गर्नु नै सबैभन्दा उत्तम उपाय हुनसक्छ । सम्बन्धित निकायले यता पनि विचार पुर्याउने हो कि ?

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार