Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काेराेनाकाे सन्त्रास: १४ दिन पुग्यो, परीक्षण भएन

    काेराेनाकाे सन्त्रास: १४ दिन पुग्यो, परीक्षण भएन

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 1.5K
    SHARES

    धनगढी। कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् तर १४ दिन बित्दा पनि उनीहरूको परीक्षण भएको छैन ।

    मुलुकभर हालसम्म भेटिएका ९ संक्रमितमध्ये चार जना सुदूरपश्चिमकै छन् र दोस्रो चरणको संक्रमण पनि यहीँ सुरु भएको छ । यस्तोमा क्वारेन्टाइनमा बसेकाहरूको सक्दो परीक्षण हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।



    क्वारेन्टाइनमा बसेको १४ दिनसम्म संक्रमण देखिएन भने घर जान दिनुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशिका छ । यस प्रदेशका क्वारेन्टाइनमा राखिएकामध्ये अधिकांशले आइतबार १४ दिन कटाएका छन् । उनीहरूलाई परीक्षणै नगरी घर जान दिने कि राखिराख्ने भन्ने दोधार रहेका बेला आइतबारै प्रदेश सरकारले थप एक साता राख्ने निर्णय पनि गरेको छ । क्वारेन्टाइनमा बसेकाहरू भने बित्थामा लामो समय दु:ख दिइएको भनेर आक्रोशित र चिन्तित छन् ।



    प्रदेशले क्वारेन्टाइन अवधि एक साता लम्ब्याउने भने पनि डोटीका स्थानीय तहहरूले क्वारेन्टाइनमा बसेकाहरूको घाँटीको स्वाब परीक्षण नगरी घर पठाउने भएका छन् । सबैको स्वाब परीक्षण सम्भव नरहेकाले उनीहरूको सामान्य शारीरिक जाँच गरेर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । ‘अहिलेसम्म कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन,’ उनले भने, ‘१५ औं दिनमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास परीक्षण गरेर उनीहरूलाई घर पठाइन्छ ।’

    डोटीमा आइतबार भारतलगायत बाहिरबाट आएका ४ सय ५० जनालाई क्वारेन्टाइनमा राखेको १३ दिन भएको छ । उनीहरूलाई जिल्लाका २४ स्थानमा बनाइएका क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । ‘क्वारेन्टाइनको कार्यविधिमा स्वाब परीक्षण गर्ने उल्लेख छैन,’ उनले भने, ‘४ सय ५० मध्ये ४ जनाको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आयो ।’ क्वारेन्टाइनबाट घर पठाइए पनि ७ दिनसम्म बेग्लै बस्ने सर्त राखिएको छ ।

    भारतलगायत बाहिरबाट फर्किएकाहरू घरमा बस्न नमान्ने भएकाले चिन्ता बढेको जनप्रतिनिधिहरूले बताए । फागुन अन्तिम सातायता झन्डै डेढ लाख मानिस भारतसहित विभिन्न मुलुकबाट सुदूरपश्चिममा भित्रिएका छन् । जति अनुरोध गर्दा उनीहरू पसलमा जम्मा हुने, तास खेल्ने, भेटघाट गर्ने गरेपछि प्रहरीको गस्ती बढाएको केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बताए । ‘प्रहरीको गस्तीपछि भने त्यस्ता गतिविधिमा कमी आएको छ,’ उनले भने ।

    यस प्रदेशमा सरकारले द्रुत परीक्षण गर्ने भने पनि त्यसका लागि किट छैन न पर्याप्त ल्याब टेक्निसियन छन् । ‘यसबारे संघीय स्वास्थ्य मन्त्रालयमा विज्ञहरूको छलफल चलिरहेको छ,’ सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले आइतबार कान्तिपुरसँग भने, ‘सोमबार वा ढिलोमा मंगलबारदेखि र्‍यापिड परीक्षण हुने प्रारम्भिक जानकारी आएको छ ।’

    यसका लागि काठमाडौंबाट ७ जनाको विज्ञ टोली धनगढी आउने र कार्ययोजना बनाएर काम अघि बढाउने उनले जानकारी दिए । लामो समयदेखि क्वारेन्टाइनमा रहेकाहरूको परीक्षण पहिलो प्राथमिकतामा पर्ने उनको भनाइ छ ।संक्रमितको संख्या बढेपछि तीव्र गतिमा नमुना परीक्षण हुनुपर्ने दबाब बढ्दै गएको छ तर शनिबारसम्म १ सय ६९ जनाको मात्रै नमुना परीक्षण गरिएको छ । एक साताअघि धनगढीमै ल्याब खोलिएको छ । पहिले नमुना प्रदेश स्वास्थ्य प्रयोगशालाले संकलन गरेर काठमाडौं पठाउने गरेको थियो । यस बीचमा सेनाले समेत नमुना संकलन गरेर काठमाडौं लगेको थियो ।

    निर्देशनालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी २ हजार ३ सय ८३ जना क्वारेन्टाइमा छन् । क्वारेन्टाइनमा सबैभन्दा बढी बझाङमा ४ सय ६४ जना छन् । त्यसपछि कैलाली, बैतडी र डोटीमा छन् । द्रुत परीक्षण किटबारे आफूलाई विस्तृत जानकारी नभएको निर्देशक डा. अवस्थीले बताए । ‘छोटो समयमा धेरैको प्रारम्भिक जाँच गर्ने विधि र्‍यापिड टेस्ट (द्रुत परीक्षण) हो,’ उनले भने, ‘र्‍यापिड टेस्टबाट अन्तिम निक्र्यौल हुने होइन । तर कोरोना संक्रमण रहे, नरहेको प्रारम्भिक पहिचान हुन सक्छ । आशंका भएकाहरूको घाँटीको स्वाब संकलन गरेर ल्याबमा परीक्षण गर्नुपर्ने हुन्छ ।’

    निर्देशक अवस्थीका अनुसार गत बिहीबारदेखि धनगढीको सेती प्रादेशिक अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले दिनमा १० जनाको मात्र परीक्षण गर्न सक्छ । ‘बिहानैदेखि साँझसम्म काम गर्दा पनि १० भन्दा बढीको परीक्षण हुन सक्तैन,’ उनले भने । उनले विशेषज्ञ ४ जनासहित ल्याब टेक्निसियनको टोली परीक्षणमा संलग्न रहेको जानकारी दिए । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार