न्युयोर्क — अमेरिकी गायिका, गीतकार, कलाकार तथा डान्सर पिंक(एलेसिया बेथ मूर) लाई कोरोना भाइरस(कोभिड–१९) को संक्रमण भएको छ ।
४० वर्षीया गायिका पिंकले शनिबार ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएकी हुन् । ‘दुई हप्ताअघि म र मेरो तीन वर्षीय छोरा जेम्सनलाई कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । स्वास्थ्य परीक्षण गराउँदा मलाईचाहिँ कोरोना भाइरस पोजिटिभ देखियो,’ उनले ट्वीटमा भनेकी छिन् । २ हव्ता परिवारका अन्य सदस्य पनि आइसोलेसनमा बसेको र स्वास्थ्य परीक्षणमा भने अरुमा संक्रमण नदेखिएको उनले बताएकी छिन् ।
साथै उनले सरकारको असफलताका कारण अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिएको पनि आरोप लगाएकी छिन् । परीक्षणको सहज पहुँच नभएकाले नै कोरोना संक्रमण फैलिएको उनले आरोप लगाएकी छिन् ।
यसअघि उनले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि १० लाख अमेरिकी डलर दिने घोषणा गरेकी थिइन् । उनले त्यो रकममध्ये ५ लाख अमेरिकी डलर टेम्पल युनिभर्सिटी हस्पिटल इमर्जेन्सी फन्ड र लस एञ्जलस मेयर्स इमर्जेन्सी कोरोना भाइरस फन्डलाई ५ लाख अमेरिकी डलर सहयोग गरेकी हुन् ।
शनिबार बिहानसम्म अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार एक सय ५२ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २ लाख ७७ हजार पुग्दा निको हुनेको संख्या भने करिब १० हजार रहेको छ ।
Leave a Reply