काठमाडौं । प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त भएको २ महिना नपुग्दै उनले अचम्मित पार्ने काम थालेका छन्।
प्रहरी अस्पताल दिपायललाई स्थानान्तरण गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि नै उनले धनगढी सार्ने निर्णय गरेको पत्र दिपायल पुगेपछि गृह मन्त्रालयले स्पष्टीकरण नै मागेको छ ।
उक्त फाइलबारे छलफल गर्न पछि गृहसचिवले आईजीपीलाई मन्त्रालयमा बोलाएपछि ‘सरी हजुर ! यो मिस्टेक भएछ’ भन्दै आइजीपी ज्ञवालीले निर्णय सच्चाएको सार्वजनिक भएको थियो।
अर्कोतर्फ,आइजीपी ज्ञवाली अहिले आफ्नो कार्यकक्ष छोडेर मुख्यालयमा एउटा टेन्ट खडा गरी सोही टेन्टमार्फत कार्यक्रम र भेटघाट गर्न थालेपछि आलोचना खेपिरहेका छन्।
मातहतका प्रहरी अधिकारीहरुलाई कार्यालयमै बसेर काम गर्न निर्देशन दिने तर आफु भने सुरक्षाको कारण भन्दै मुख्यालयमा खडा गरिएको टेन्टमा नै कार्यक्रम र भेटघाट गर्न थालेपछि आईजीपी ज्ञवालीको चर्को आलोचना भएको छ। कोरोना भाइरस (कोभिड -१९) को संक्रमण नियन्त्रणका लागि मुख्य भूमिका खेल्नु पर्ने उनी भुकम्प नै गएर भवन भत्केर हल नै नभएजसो गरी टेन्टमा बसेर भेटघाट र कार्यक्रमहरु गरिरहेका छन्।
त्यसो त २०७६ माघ २८ मा आइजीपी नियुक्त भएका उनको फोटो नेपाल प्रहरीको बेवसाइटमा ३ पटक परिवर्तन गरिसकिएको छ ।
आइजीपी हुनासाथ प्रहरीको बेबसाइटमा उनको टोपी नलगाएको फोटो राखिएको थियो । करिब ७७ हजार संख्या रहेको नेपाल प्रहरीजस्तो संगठनको बेवसाइटमा संगठन प्रमुखको फोटो राख्दा पहिले नै पोशाक अनुसारको टोपी नलगाएकोमा त्यतिबेला नै धेरेले टिकाटिप्पणी गरिससकेका थिए ।
त्यतिबेला उनको सचिवालयमा कार्यरत तत्कालीन डीआइजी शैलेश थापा क्षेत्री लगायतका अधिकारीले किन यो कुरा सुझाएनन् भन्ने सवाल पनि उठेको थियो । त्यो फोटो बेवसाइटमा राखिएको तीन सातापछि मात्र परिवर्तन गरी अर्को राखिएको थियो ।
टोपी नलगाएको फोटो हटाएर टोपीसहितको राखियो । तर त्यो फोटो पनि फुली मात्र देखिने उनले पाएका पदक र सम्मानहरु मुस्किलले देखिने खालको थियो ।
त्यसपछि तेस्रो पटक राखिएको अहिलेको फोटोमा उनले पाएका पदक र सम्मानहरु देखिने गरी राखिएको छ । जबकि नेपाल प्रहरीमा एसपी प्रमुख रहनेगरी फोटोग्राफी शाखा नै छ । जसको काम नै फोटो खिच्ने हो । त्यतिबेला फोटो शाखाका प्रहरी हाकिमहरुलाई किन परिचालन गरिएन रु झन्डै २ महिना नपुग्दै तीन पटक संगठन प्रमुखको फोटो परिवर्तन गरिएको नेपाल प्रहरीको इतिहासमा संभवतः पहिलो घटना मानिएको स्रोत बताउँछ ।
करिब चार महिना कार्यकाल भएका आइजीपी ज्ञवालीका निर्णयमा सचीबालयकै समुह हावी हुने गरेको चर्चा छ । खासगरी आर्थिक प्रशासन महाशाखाका प्रमुखलाई गुणस्तर चेक गर्न नदिई अर्का एसएसपी वसन्त पन्तलाई दिइएको बिषय उठ्यो ।
त्यस्तै, काठमाडौं, ललितपुर र ट्राफिक प्रहरी महाशाखामा लेखापाल सरुवा गरेको बिषयलाई पनि लिइएको छ । अर्थमन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाममा बजेटको ठूलो हिस्सा खर्च गर्नुपरेको कारण देखाउँदै सूचना प्रविधिदेखि उपकरण, सवारी साधन खरिद, फर्निचर, परामर्श लगायतका शीर्षकको बजेट कटौती गरेपछि नेपाल प्रहरीको करिब ५० करोड रकम तानिने भएको छ ।
Leave a Reply