Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • यसकारण कोरोना संक्रमण रोक्न चुक्यो सरकार

    यसकारण कोरोना संक्रमण रोक्न चुक्यो सरकार

    कुमार भण्डारी
  • शुक्रबार, २१ चैत्र २०७६
  • 5.9K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट शुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारण हालसम्म मृतकको संख्या ५३ हजार नाघिसकेको छ भने १० लाख बढी संक्रमित भइसकेका छन् । नेपालमा भने हालसम्म ६ जनालाई कोरोना संक्रमित भएको पुष्टि भएको छ भने एक जनालाई निको भइसकेको छ । अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमूना परीक्षण गरिएको छ । १६ जना उपत्यकाका र ९९ बाहिरका गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् ।

    नेपाल सरकारले हाल लकडाउन गरिरहेको छ । दुई पटक गरेर २५ गतेसम्मका लागि लकडाउन गरिएको छ । पहिलो पटक १८ गतेसम्मका लागि गरिएको लकडाउन दोस्रो पटक थप गरी २५ गतेसम्मका लागि गरिएको छ । यद्यपी लकडाउन अझै थप्न सक्ने संकेत देखिएको छ । लकडाउनका बेला अत्यावश्यक कामबाहेक बाहिर निस्कन बन्देज गरिएको छ ।



    अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ६ जना नै विदेशबाट आएकाहरु मात्र भएकाले यहाँ सरकारको गम्भिर लापरवाही भएको देखिन्छि । विश्व भर कोरोना संक्रमण भएको जानकारी हुँदा हुँदै पनि सरकारले विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा नराख्नु नै सरकारको सबैभन्दा ठूलो भुल भएको अहिले आएर प्रष्ट भएको छ ।

    तर, सरकारले लकडाउन गर्ने बाहेक अन्य उल्लेखनिय काम गर्न नसकेको सरकारकै काम कारबाहीले देखाउँछ । कोरोनाका कारण देश संकटमा परेका बेला कोरोना रोकथाम र नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामाग्रीमा करोडौं घोटाला भएका समाचार बाहिर आएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको छ ।



    यसरी विदेशमा महामारीको रुपमा कोरोना भाइरस फैलिदा समेत नेपाल सरकारले भने विदेशबाट आउनेहरुलाई क्वारेन्टाइनमा नराख्नु नै सबैभन्दा ठूलो भूल भएको देखिन्छ । चीनको बुहानबाट ल्याइएका नेपालीहरुलाई भत्तपुरको खरीपाटीमा क्वारेन्टाइन बनाएर राखिए पनि अरु विदेशबाट आएकालाई क्वारेन्टाइनमा नराख्दाको फल हो यो ।

    यद्यपी चैत ८ गते शनिबार विभिन्न प्रतिबन्धित मुलुकबाट आएका ६७ जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राख्यो । उनीहरु जापान, मलेसिया र यूएईबाट आएका थिए । तर चैत ४ गते आएकाहरुलाई चाहि किन क्वारेन्टाइनमा राखिएन ?

    चैत ४ गते आएका नेपालीहरुलाई विमानस्थल अध्यागमनले सामान्य ज्वरो नापेकै भरमा घर जान दिंदाको परिणाम हो हो । जसले गर्दा देश अहिले महामारीको भुमरीमा परेको छ । त्यसैले सरकारले यसैबाट पाठ सिकेर अघि बढ्नुपर्छ ।

    यस्ता छन् नेपालमा देखिएका कोरोनाका घटना
    घटना नं. १
    नेपालमा पहिलो पटक माघ १० शुक्रबार गते कोरोना संक्रमणको पुष्टि भएको थियो । चीनको बुहानबाट विदामा नेपाल आएका विद्यार्थीको रगत र र्यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको थियो । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणको रिपोर्टमा ‘कोरोना भाइरस’को संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

    नोबल कोरोना भाइरसको परीक्षण सेवा नेपालमा नहुँदा त्यसबेला नमुना विशेष परीक्षणका लागि माघ ७ गते मंगलबार विश्व स्वास्थ्य संगठन(डम्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो ।

    ज्वारो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि ती विद्यार्थीलाई काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । तर, उनी हाल निको भएर घर फर्किसकेका छन् ।

    घटना नंं २
    चैत ४ गते मंगलबार फ्रान्सबाट कतारको दोहा हुँदै आएको क्युआर ६५२ कल साइनको कतार एयरवेजमा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखियो । उनी काठमाडौं ओर्लेको ६ दिनपछि अर्थात १० गते सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै ती युवतीमा कोरोनाको संक्रमणको पुष्टि भएको जानकारी गराएका थिए ।

    पत्रकार सम्मेलनमा मन्त्री ढकालले ती युवतीका परिवारका सदस्यहरूलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी दिंदै प्लेनमा सँगै आएका १५८ जनाको पनि खोजी भएको जानकारी दिएका थिए । फ्रान्सबाट कतारको दोहासम्म सँगै आएको भियतनामी साथीले फोन गरेर उसलाई संक्रमण रहेको बताएपछि ती किशोरी अस्पताल गएकी थिइन् ।

    तर, अस्पतालले भित्री घाँटीबाट नमुना संकलन गरेर आइसोलेसनमा बस्न भन्दै घर फिर्ता पठायो । आइतबार परीक्षण रिपोर्ट पोजिटिभ आएपछि भने उनलाई अस्पतालमा नै भर्ना गरेर उपचार भइरहेको छ ।

    घटना नं. ३
    चैत ११ गते मंगलबार फेरि १ जनालाई कोरोना संक्रमण पुष्टि भयो । मंगलबार बेलुका ३० वािर्षय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको नमुनामा उनमा कोरोना पुष्टि भएको हो । उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण प्रयोगशालामा उपचार भइरहेको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा रहेका धादिङका ३२ वर्षीय ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनी चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए ।

    घटना नं. ४
    चैत १४ गते शुक्रबार थप एक जना कोरोना भाइरस संक्रमित थपिए । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार धनगढीका ३४ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको थियो । केही दिन अघि मात्रै दुबईबाट नेपाल आएका उनको चैत ११ गतेदेखि धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको थियो । उनको नमुना टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण प्रयोगशालामा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

    घटना नं. ५
    चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी बागलुङकी एक युवतीमा चैत १५ गते शुक्रबार कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो । उनी नेपालको पाँचौ कोरोना संक्रमित थिइन् ।

    यस अघि सोहि विमानमा नेपाल फ्रान्सबाट कतारका दोहा हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीमा चैत १० गते नै कोरोना पोजेटिभ देखिएको थियो । बागलुङ नगरपालिकामा रहेकी ती युवतीको धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो ।

    घटना नं. ६
    नेपालमा हालसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चैत ४ मा कतारको दोहा हुँदै काठमाडौं आएको क्युआर ६५२ नम्बरको प्लेनमा आएका थप एक जनामा कोरोना देखिएको हो । ती व्यक्ति कतारको दोहाबाट नेपाल आएको बताइएको छ । यो कोरोना संक्रमितको संख्या ६ पुगेको हो ।

    यसअघि सोही विमानमा आएका दुई जनामा कोरोना पुष्टि भइसकेको छ । उडानका अर्का यात्रुमा कोरोना संक्रमण भेटिएको जनाएका छन् । छैटौं केसको रुपमा कोरोना संक्रमण देखिएका विरामी पनि बाग्लुङ नै घर भएकी महिला भएको बताइएको छ ।हामीले यो समाचार तयार पारेको केही समयपछि थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

    घटना नं. ७
    शुक्रबार नेपालमा कोरोनाका सातौं संक्रमित फेला परे । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।

    अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ७ जना नै विदेशबाट आएकाहरु मात्र भएकाले यहाँ सरकारको गम्भिर लापरवाही भएको देखिन्छि । विश्व भर कोरोना संक्रमण भएको जानकारी हुँदा हुँदै पनि सरकारले विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा नराख्नु नै सरकारको सबैभन्दा ठूलो भुल भएको अहिले आएर प्रष्ट भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार