काठमाडौं । कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने मेडिकल सामग्रीमा घोटाला भएको समाचार बाहिरिएपछि स्वास्थ्य सेवा विभागले १ अर्व रुपैयाँको टेण्डर रद्द गर्यो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा पनि सोही प्रकृतिको अनियमितता भएको आशंका कर्मचारीहरुले गरेका छन् ।
विगत ५ बर्षदेखि खरिद एकाईकी प्रमुख रहेकी नर्स भगवती थपलिया, अहेव अरूण महतो, डिल्ली आचार्य, मेडिकल स्टोरका केही कर्मचारी र कम्प्युटर अपरेटर विष्णु घिमिरेको मिलेमतोमा अनियमितता भएको छ ।
कोरोना भाइरसको महामारीले विश्व नै आतंकित भएको, नेपाल पनि जोखिममा रहेको र देश लकडाउनको अवस्थामा रहेको बेलामा यो समूहले अनियमितता गर्ने छोडेको छैन ।
यो समूहले स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने माक्स, सेनिटाइजर, गाउन, पन्जा(सर्जिकल ग्लोब्स) पिपिई सेट, इन्फारेट थर्मामिटर, आइसोलेसन बेड तयार गर्न आवश्यक सामान, औषधि र स्प्रे गर्ने मेसिन आफूनिकटका फर्मसँग महँगोमा किनेको आरोप छ ।
वीरका यी कर्मचारीले यस्तो महामारीमा पनि जनताको र वीर अस्पतालका स्वास्थ्यकर्मीको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् ।
वीरमा अनियमितता गर्दैआएको यो समूहले गरेको अनियमिततामा कोही बोल्न सक्दैनन् । स्रोतका अनुसार पीपीई सेट त महतो र भगवतीले कपडा किन्दै आफूनिकटलाई सिलाउन दिएर ल्याउने गरेका छन् ।
सो सामान गुणस्तरहीन भएको र च्यातिने खालको भएको स्वास्थ्यकर्मीहरुले नै भन्न थालेका छन् । उनीहरुले सुरक्षा सामग्री नै नदिई पनि कतिपय कर्मचारीहरूलाई काममा लगाइरहेका छन् । यो समूह बिल मात्र बनाएर खान पल्केको छ ।
अस्पतालका वार्ड, आइसीयु, ओटी लगायतमा ज्वरो नाप्ने गन छैन भने पीपीई नभई काम गर्नुपरेको कर्मचारीहरुको गनासो छ । यो समूहलाई स्वास्थ्यकर्मीको सुरक्षातर्फ भन्दा पनि कमिसनमा मात्र बढी चासो रहेको छ ।
खरिद एकाईका एक कर्मचारी भन्छन्–यस्तो बेलामा पनि कमिसनको लागि मात्र काम गर्छन्, भोलि के हुन्छ थाहा छैन, मरेर लैजानु के छ र ? यस्तो लोभ गरेका होलान् ? यो समूहमाथि गत असोजमा विना बिज्ञापन २५ जना नर्सलाई ठाडो नियुक्ति दिई रकम असुलेको आरोप लागेको थियो भने निर्देशकको मासिक खाजा खर्चको ५ लाख रुपैयाँको बिल बनाएका थिए । यो समूह यो भन्दा पहिले पनी आफूनिकट ऐजेन्सीसँग सामान खरीद गरी विवादमा परेको थियो ।
कर्मचारी समायोजनमा विरामी नभएकालाई पनि बिरामी भएको भनी घुस लिएर मेडिकल बोर्डको सिफारिस बनाउने काम पनि यही समूहले गरेको आरोप लागेको थियो ।
यी सबै बिषयमा प्रधानमन्त्री कार्यालय, अख्तियार, सर्तकता केन्द्र र स्वास्थ्य मन्त्रालयमा उजुरी परेको थियो । यो समूह आफूलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ निकट हुँ भनी वीरमा अनियमितता गर्ने समूह रहेको कर्मचारीहरु नै वताउंछन्। उनीहरुका अनियमितताको बिरोध गरेमा दुःख दिने चेतावनी दिने गरेको एक कर्मचारीले गुनासो गरे ।
कर्मचारीहरूले खरिदको बिषयमा चासो देखाए भने भन्दैनन् । सबै फाइल गोप्य राखेका छन् । यस बिषयमा कर्मचारीले सम्बन्धित निकायहरुमा मौखिक गुनासो गरिसकेका छन् भने अख्तियारमा उजुरी दिने भएका छन् ।
Leave a Reply