Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमाबाट प्रवेश नपाएपछि आफ्नै देशमा मर्छु भन्दै महाकालीमा हाम्फाले युवक

    सीमाबाट प्रवेश नपाएपछि आफ्नै देशमा मर्छु भन्दै महाकालीमा हाम्फाले युवक

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । मंगलबार दिउँसो करिब १ बजे, महाकाली नदी पारिपट्टि किनारमा एक युवकले एकाएक लुगा फुकाले । लुगा झोलामा हाले, झोला टाउकोमा बाँधे, अनि महाकालीमा हेलिए ।

    केहीबेरमै वारि किनार आइपुगे । उनले देशको माटो त टेके, तर खुसीको सास फेर्न सकेनन् । किनभने वारि आएलत्तगै प्रहरीले पक्राउ गर्‍यो । महाकालीको चिसो पानीमा चोबलिएर काम्दै देश छिरेका उनी प्रहरीले समातेपछि झन् अत्तालिए । आफ्नै देश टेक्दा, आफ्नै देशका सुरक्षाकर्मीसामु अवाक भए ।



    उनी हुन्– बैतडीको डिलासैनी गाउँपालिका–२ सिमराका २१ वर्षीय लोकेन्द्र बोहरा । घरमा कमाउने कोही नभएपछि दुई महिनाअघि गाउँका साथीसँगै रोजगारीका लागि भारत गएका थिए । पिथौरागढ जिल्लाको पञ्चाचुली क्षेत्रमा सडक निर्माणको काम पनि पाए । तर, चैत नलाग्दै कोरोनाको हल्ला फैलियो । ठेकेदारले घर जान भनेपछि शनिबार उनीसहित ११ नेपाली मजदुरले नेपालको यात्रा तय गरेका थिए । सोमबार धार्चुला आइपुगेका थिए ।



    ‘दुई दिनसम्म लगातार हिँडेर सोमबार धार्चुला आइपुगें । त्यहाँ अन्य नेपालीलाई राखिएको ठाउँमा खाना खाएँ । कान्जीहाउसमा शौचालयको छतमा रात काटेँ,’ उनले भने, ‘आफ्नै देश छिर्न रोक लागेकोमा कटक्क मन काट्यो । जे होला भनेर आज महाकाली तरेको हुँ । अब नेपाल सरकारले जे गर्छ, त्यही टर्छ ।’

    बैतडीकै डिलासैनी–७ धामी गाउँका २१ वर्षीय अमरसिंह धामीले पनि मंगलबार महाकालीमा पौडेर नेपालमा पाइला टेके । उनीसहित १३ जनाको समूह भारतबाट आइतबार बिहान हिँडेर सोमबार बेलुका सीमावर्ती क्षेत्र बालुवाकोट आइपुगेको थियो । अमरसिंह पनि रहरले भारत गएका थिएनन् । १० कक्षासम्म पढेका उनी परिवारको पेट पाल्न रोजगारी खोज्दै पुगेका थिए । कोरोनाको त्राससँगै सडक निर्माणको रोजगारी गुमेपछि घर फर्किएका हुन् । तर, सीमामा सरकारले रोकेकोमा उनको चित्त दुखाइ छ ।नयाँ पत्रिकामा  खबर छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार