Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • सीमामा रोकिएका नेपाली ट्युबबाट धमाधम नेपालतर्फ

    सीमामा रोकिएका नेपाली ट्युबबाट धमाधम नेपालतर्फ

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.9K
    SHARES

    दार्चुला । नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् ।

    यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र बझाङका नेपाली मजदुर ट्युबमार्फत घर फर्किएका हुन् । दुवै देश लकडाउन भइरहेको बेला भारतमा रोकिएर रहेका नेपाली ट्युबमार्फत घर फर्किएको स्थानीय बताउँछन् ।



    ट्युबमा चढेर दिनहँु नेपाली मजदुर भित्रिएका छन् । प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर उनीहरू नेपाल प्रवेश गरेको एक स्थानीयले बताए । मालिकार्जुनको बाकु, गराडी, चुकिला डिन्सीलगायत क्षेत्रबाट रातको समयमा भारतबाट स्थानीय ट्युबमार्फत नेपाल आउने गरेको स्रोतको दाबी छ ।



    त्यहीँका स्थानीयले अहिले विपद्को समयमा आम्दानीको स्रोतका रूपमा ट्युब बनाएका छन् । उकु बाकु हुँदै शुक्रबार राति २५ जना र शनिबार सोही संख्यामा मजदुर घर फर्किएको मालिकार्जुनका स्थानीय हीरासिंह धामीले जानकारी दिए । चेकजाँचबिना उनीहरू गाउँ पसेपछि गाउँमा जोखिम बढेको उनले बताए ।

    लेकम गाउँपालिका स्वास्थ्य संयोजक हरिदत्त जोशीका अनुसार यसै साता बझाङका १३ जना नेपाली घर फर्किएको आफूले देखेको बताए । ‘पुल बन्द भएपछि यो ठाउँ भएर आएका थिए,’ उनले भने, ‘कुन ठाउँबाट तरे भन्ने जानकारी भएन । तर रातको समयमा ट्युबको माध्यमबाट नेपाल भित्रिने गरेको हल्ला छ । हामीले भारतबाट आएका व्यक्तिको पहिचान गर्न शुक्रबारदेखि स्वयंसेवक परिचालन गरेका छौं ।’

    मालिकार्जुन गाउँपालिका ५ का वडाध्यक्ष तर्कराज ओझाले बैतडीका ५ जना ट्युबमार्फत नेपाल भित्रिएको बताए । उनीहरूलाई डाँडाकोट स्वास्थ्य चौकीमा चेकजाँच गरेर पठाइएको जानकारी दिए ।

    मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी अहिले पूलबाट आएका भन्दा पनि ट्युबमार्फत अवैध रूपमा नेपाल भित्रिरहेका मजदुरका कारण गाउँमा कोराना भाइरसको जोखिम बढेको बताउँछन् । उनले भने, ट्युबमार्फत रातको समयमा मात्रै नेपाल प्रवेश गर्छन् । उनीहरू स्वास्थ्य चेकजाँचबिनै गाउँघर पुगेका छन् ।’ ट्युबमार्फत नेपाल आउने बाटो पूर्ण रूपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई आग्रह गरेको अध्यक्ष धामीले बताए ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी दीपेन्द्रबहादुर शाही त्यस क्षेत्रमा रहेका ट्युबलाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिइरहेको बताए । सीमा प्रहरी चौकी लाली, जौलजिवीले यो क्षेत्रका सबै ट्युब संकलन गर्ने काम गरिरहेको जानकारी दिए । स्थानीयका अनुसार नेपालतिरका ट्युब प्रहरीले नियन्त्रणमा लिएको भए पनि भारततिरका ट्युबमार्फत अहिले भारतमा रोकिएका नेपाली नेपालतिर आइरहेका छन् । राजधानी दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार