काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले ‘होल्ड’ गरेर २ घण्टा सचेतना कक्षा दिएको छ ।
नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि विनाकारण सडकमा निस्किए भेटिएकै स्थानमा दुई घन्टा उभ्याइने भएको हो ।
सरकारले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको छैठौं दिनमा उपत्यका प्रहरीले नीति परिवर्तन गरेको हो । यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो भने आजदेखि २ घण्टा सडकमै राखेर कक्षा दिन थालिएको हो ।
पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना दिएर जहाँबाट आएको हो त्यतै फर्काउन थालेको हो ।
आदेश उल्लङ्न गर्नेविरुद्ध कारवाहीको नयाँ नियमस्वरुप होल्ड गरेर सचेतना शिक्षा दिन थालिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आज बिहान ७ः३० बजेसम्म्मा मात्रै ५१२ पुरुष र १०५ महिलालाई सडकमै होल्ड गरेर कक्षा दिइएको हो ।
उनीहरुलाई सामाजिक दूरी कायम गरी दुईदेखि तीन घण्टा होल्ड गरिने र रोगको बारेमा जानकारी गराइने छ । सवारीसाधन भने १०३ वटालाई होल्ड गरेर राखिएको प्रहरीले जनाएको छ । उपत्यकाको तीनै जिल्लामा उक्त नियम लागू गरिएको हो ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको थियो । आदेश चैत १८ गते बिहानसम्म लागू हुने छ ।
अहिलेसम्म नेपालमा पाँच जनामा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । पाँचै जना विभिन्न मुलुकबाट फर्किएका नेपाली हुन् ।
Leave a Reply