काठमाडौं । विश्व रंगमञ्च दिवसको अवसर पारेर भर्चुअल रंगमञ्च महोत्सव ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ सुरु भएको छ । ‘लक डाउन’को गम्भीर समयलाई मध्यनजर गर्दै थिएटर मल, कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल)ले संयुक्त रूपमा यस्तो महोत्सव आयोजना गरेको हो । विश्व रंगमञ्च दिवसबाट प्रत्यक्ष नाटक महोत्सव गर्न नसकेपछि फेसबुक पेजमार्फत उनीहरूले यो उत्सव सुरु गरेका हुन् ।
हरेक साँझ ठीक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट दैनिक एउटा नाटक देखाइने भएको छ ।
महोत्सव निर्देशक केदार श्रेष्ठका अनुसार कोभिड–१९को महामारीले पैदा गरेको संकटको समयमा रंगमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्न लागिएको हो, ‘तर यो महोत्सव भर्चुअल हुनेछ । हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ ।’ घरमै बसेर नाटक हेर्न र प्रतिक्रिया दिन पनि सकिने निर्देशक श्रेष्ठले जानकारी गराएका छन् । नाटक सुरु हुनुअघि कोरोना भाइरसबारे सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमसमेत उद्घोषण गरिनेछ ।
Leave a Reply