Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • छिमेकीलाई कोरोनाले आतंकित बनाउँदा पनि रत्तिभर नडराउने एकमात्र देश

    छिमेकीलाई कोरोनाले आतंकित बनाउँदा पनि रत्तिभर नडराउने एकमात्र देश

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 3.2K
    SHARES

    बेरारुस । केही दिन यता, कोरोनाभाइरसको संक्रमणले युरोपका कयौँ मुलुक नराम्ररी प्रभावित भएका छन् । पछिल्लो समय युरोपलाई नै कोरोना संक्रमणको ‘इपिसेन्टर’ भन्न थालिएको छ । किनकि, युरोपमै कोरोना संक्रमणका कारण सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

    यसका बाबजुद युरोपको एउटा मुलुक भने कोरोना संक्रमणबाट रत्तिभर प्रभावित तथा विचलित देखिएको छैन । आफ्नो निकट छिमेकी मुलुक रुस र युक्रेन कोरोना संक्रमणका कारण नराम्ररी प्रभावित भइसक्दा पनि बेलारुस भने सामान्य दैनिकीमै छ । जबकि रुस र युक्रेनले कोरोना संक्रमण रोक्नका लागि कडा प्रतिबन्धका कार्यक्रम लागू गरिसकेका छन् ।



    युक्रेनले चाँडै नै कोरोना रोकथामका लागि आपतकाल घोषणा गर्ने भएको छ । रुसले सबै विद्यालय तथा कलेज बन्द गरिसकेको छ भने सार्वजनिक कार्यक्रममा रोक लगाइसकेको छ ।



    बेलारुस भने सामान्य अवस्था मै छ । बेलारुसको सबै सीमा खुला छन् भने मानिसहरु नियमित काममा व्यस्त छन् । त्यहाँ खाद्यान्न तथा अत्यावश्क सामान किन्न मानिसहरुको घुइँचो पनि छैन, मानौं सबै कुरा सामान्य नै छ ।

    ‘आतङ्कित हुन जरुरी छैन’ बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले तत्काल बेलारुसमा कोरोना संक्रमण रोकथामका लागि भन्दै कडा कदम चाल्न आवश्यक नरहेको बताएका छन् ।

    मंगलबार चीनका राजदूतसँग छलफलपछि उनले भने, ‘घटनाहरु भइरहन्छन्, त्यसलाई लिएर मानिस आतङ्कित नहोउन् भन्ने जरुरी हुन्छ ।’

    बेलारुसले सिनेमा घर बन्द गरेको छैन, न त सार्वजनिक कार्यक्रममा नै कुनै प्रकारको रोक लगाइएको छ । बेलारुस विश्वका ती सीमित मुलुकमा पर्दछ जसले फुटबल प्रतियोगिता पनि रोकेको छैन । बेलारुसमा सामान्य अवस्थामा जस्तै फुटबल प्रतियोगिता भइरहेको छ, छिमेकी मुलुक रुसका दर्शकका लागि टेलिभिजनमार्फत फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण भइरहेको छ ।

    ट्याक्टरले रोक्छ कोरोना !

    राष्ट्रपति लुकाशेन्कोले हालै भनेका थिए, ‘कोरोना भाइरसलाई एउटा ट्याक्टरले रोक्छ ।’

    उनका यी भनाइ बेलारुसको सोशल मिडियामा निकै चर्चामा रहे । कयौँले उनका यस्ता अभिव्यक्तिको आलोचना पनि गरे ।

    यद्यपि उनको सो अभिव्यक्ति बेलारुसका किसानलाई लक्षित गरिएको थियो । उनले आफू मदिरा सेवनबाट टाढै रहेको जानकारी दिँदै कोरोना रोक्नका लागि आवश्यक परेमा एक घुट्को भोड्का पिउन सक्ने पनि बताएका थिए ।

    बेलारुसका नागरिक विश्वमै महामारीका रुपमा देखा परेको कोरोना संक्रमणबाट बेखबर छैनन् । उनीहरु यो भाइरसको बढ्दो संक्रमणप्रति चिन्तित छन् । आफ्नो मुलुकमा पनि यो भाइरसको संक्रमण भित्रिएको हुन सक्ने उनीहरुको आँकलन छ । त्यसैले कयौं विद्यार्थी बिरामी भएको बहानामा विद्यालय आउन छाडेका छन् ।

    राष्ट्रपति लुकाशेन्कोले आतङ्कित हुनु पर्ने अवस्था नरहेको बताए । उनका अनुसार विदेशबाट बेलारुस आउने सबैको स्वास्थ्य परीक्षण गरिएको छ ।

    उनले भने, ‘दिनमा एक–दुई जनाको नतिजा पोजेटिभ आएको छ, उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।’

    उनले मानसिक तनाब लिनु पनि निकै खतरनाक हुने बताए । ‘चिन्ता कोरोना भाइरसभन्दा पनि खतरनाक हुन्छ,’ उनले भने ।

    उनले गुप्चतर निकायलाई समाजमा भ्रम फैलाउनेहरुलाई नियन्त्रणमा लिन र कारवाहीको दायरामा ल्याउन आदेश दिएका छन् । बेलारुसमा अहिलेसम्म कोरोना संक्रमणका ८६ मामिला प्रकाशमा आएको छ भने दुई जनाको मृत्यु भएको छ । यद्यपि सरकारले कोरोना भाइरसकै कारण मृत्यु भएको भनेर पुष्टि गरेको छैन ।

    बेलारुस कयौं अर्थमा युरोपका बाँकी मुलुकभन्दा फरक छ । बेलारुस युरोपको त्यस्तो एकमात्र मुलुक हो जहाँ मृत्युदण्डको सजाय कायम छ । बीबीसी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार