काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिएकाे काेराेना भाइरसका कारण सरकारले देशैभर गरेकाे लकडाउनमा काठमाडौं उपत्यकामा मंगलबार बिहानदेखि बुधबार बिहानसम्म कुनै अप्रिय घटना नभएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ। लकडाउनकाे अवज्ञा गर्न खोज्ने केहीलाई प्रहरीले सम्झाएर पठाइएको छ ।
चन्द्रागिरीमा लकडाउनमा पसल खोलेका कारण एक जनालाई नियन्त्रणमा लिएको छ भने त्यसबाहेक कसैलाई पनि नियन्त्रणमा नलिएको प्रहरीले जनाएको छ । ९ जनालाई मापसे गरी झैंझगडा गर्नेलाई पक्राउ गरेको छ । काठमाडौंबाट ५, ललितपुरबाट २ तथा भक्तपुरबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीकाका अनुसार समग्रमा कुनै अप्रिय घटना हुन नपाएको र सर्वसाधारणले लकडाउनलाई पालना गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक लोकबहादुर विष्टका अनुसार लकडाउनको दोस्रो दिन सवारी साधन सडकमा फाटफुट देखिएका छन् । अनुमति लिएर चलाउने सवारीमात्र देखिएका छन्।
त्यसबाहेक कसैले पनि सवारी चलाएका छैनन् । अत्यावश्यक सवारी, खाद्य सामग्री बोकेका केही सवारीमात्र चलेको विष्टले बताएका छन् । गाडी कम गुडेका कारण कुनै पनि कार्वाही भएन । २१ः१० बजे भक्तपुर जगातेमा दुर्घटना भएको छ । बा ९० प ४०४० नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ । रोकिराखेको ट्रकमा ठोक्किएपछि चालकको मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि बस्ने गम्भीर घाइते छन् ।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
Leave a Reply