काठमाडौँ । चीनबाट सुरू भइ विश्वभर फैलिएकाे कोरोना भाइरस (कोभिड–१९) का सम्भावित बिरामीको उपचारका लागि सशस्त्र प्रहरीको अस्पताललाई सरकारले डेडिकेटेड कोरोना अस्पताल बनाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले बलम्बुस्थित रहेकाे उक्त अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाउने निर्णय गरेको हाे।
शनिबार सशस्त्रको अस्पताललाई डेडिकेटेड बनाउन पूर्वाधार व्यवस्थापन गर्ने र त्यहाँ उपचाररत बिरामीलाई तत्काल अन्यत्र सार्ने निर्णय गरेको हो। त्यस्तै राजधानीका अन्य ठूला चार अस्पताललाई पनि संकट आइपरे उपचार गर्न सकिने गरी तयारी अवस्थामा राख्ने निर्णय भएको छ।
स्वास्थ्य सचिव यादव कोइरालाका अनुसार शिक्षण, वीर, पाटन र वीरेन्द्र सैनिक अस्पताललाई विकल्पका रूपमा तयार राख्ने निर्णय भएको हो। यी ठूला अस्पतालबाट अरू बिरामी तत्काल अन्यत्र सारिने छैन। यी चारवटै राम्रो पूर्वाधार भएका अस्पताल हुन्। सरकारले यसअघि नै कीर्तिपुरको आयुर्वेदिक अस्पताल लगायतलाई पनि प्रयोग गर्ने निर्णय गरिसकेको छ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार आपत्कालीन अवस्थामा यी ठूला अस्पताललाई प्रयोग गर्दा करिब ७ हजार बिरामीलाई एकैपटक उपचार गर्न सकिन्छ। त्यसैले यी ठूला अस्पताललाई ‘ब्याकअप’ मा राख्ने निर्णय उच्चस्तरीय समितिले गरेको हो।
उच्चस्तरीय समितिले औषधि लगायतका अत्यावश्यक सामग्री स्वदेश र विदेशबाट खरिद गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। नेपालभित्रै गर्न सकिने सामग्रीको खरिद स्वास्थ्य मन्त्रालय गर्ने र विदेशबाट ल्याउनुपर्ने सामान अर्थ र परराष्ट्र मन्त्रालयको समन्वयमा खरिद गर्ने निर्णय भएको छ। विदेशबाट खरिद गर्नुपर्ने सामग्रीका सन्दर्भमा विदेशस्थित नेपाली दूतावाससँग पनि समन्वय गर्ने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।
हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र कोभिड–१९ को परीक्षण तथा उपचार हुने व्यवस्था छ।