Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • कतै हामी कोरोनाको संक्रमण रोक्न चुकेका त छैनौं ?

    कतै हामी कोरोनाको संक्रमण रोक्न चुकेका त छैनौं ?

    कुमार भण्डारी
  • आइतबार, ९ चैत्र २०७६
  • 3.3K
    SHARES

    काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण हामीले यो समाचार तयार पार्दासम्म मृतकको संख्या १३ हजार पुगिसेको थियो भने संक्रमितको संख्या ३ लाख नाघेको थियो । चीन, इटली र स्पेनमा सर्वाधिक कोरोनाका धेरै संक्रमित देखिएका छन् । तर, धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र इरानमा छ ।

    इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको थियो । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।



    अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । बेलयातमा पनि यसबाट संक्रमित हुनेको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् । नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाइसकेको छ । कोरोनाको बढ्दो महामारीसँगै विश्व अर्थतन्त्र धरासायी हुने जोखिम विज्ञहरुले औल्याएका छन् ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन । अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु जस्तै बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    यसरी कोरोनाले विश्वव्यापी महामारीको रुप लिइरहेका बेला नेपाललमा भने खासै सम्यमता अपनाउन सकेको देखिदैन । हुन त सरकारले अत्यावश्यक सेवा दिने बाहेकका संघ संस्था तथा कार्यालयहरु बन्द गर्ने, लामो दूरीका सवारी साधन बन्द गर्ने, अत्यावश्यक काम बाहेक घरबाट ननिस्कने, २५ जना भन्दा बढि एकै स्थानमा भेला नहुने जस्ता निर्देशन दिइसकेको छ । अहिलेको परिस्थितिमा सरकारले गरेको यो निर्णयलाई सह्राहनीय नै मान्नु पर्छ ।

    हुनत नेपालमा अहिलेसम्म कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । यहि अवस्थामा सरकारले कोरोनाको संक्रमण रोक्न अझै पहल गरेको खण्डमा भने सरकार मात्र होइन जनता पनि सफल हुनेमा दुई मत छैन । तर, सरकारले गरेका निर्णयहरु कार्यान्वयन हुन नसक्दा नेपालमा कोरोनाको संक्रमण फैलने देखिन्छ । सरकारको निर्णयको पालना गर्ने भन्दै संसदीय समितिको बैठक स्थगित भएका छन् । जहाँ सम्यमता अपनाएर पनि बैठक बस्न सकिन्थ्यो ।

    तर, आम जनताहरुमा भने सरकारको निर्णय लागू हुन सकेको छैन । सरकारले भोली अर्थात सोमबारबाट मात्रै लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय गरेको छ । तर, आज कोटेश्वर र कलंकीमा काठमाडौं बाहिर जानका लागि सयौं गाडीहरु लाइन लागेका छन् भने हजारौं यात्रुहरु एकै ठाउँमा देखिन्छन् । यहाँ कतै सरकार चुकेको त होइन् ? साना खाजा पसलदेखि पाँच तारे होटलसम्म बन्द भएका छन् । अधिकांश मानिसहरु शहर छाडेर गाँउतिर लागेका छन् । गाँउ जाजु समास्याको समाधान हो त ? यस विषयमा भने सरकार वेखबर जस्तै छ ।

    २५ जना भन्दा बढि भेला नहुन सरकारले गरेको निर्णय अटेर गर्ने जनता उस्ता हुन् कि सरकारले आफूले गरेको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसेकोको कुरा यथार्थ हो त्यो विज्ञहरुले नै मूल्यांकन गर्लान् । त्यसो त सरकारले जे भनेपनि आम जनमानसमा भने १० गतेबाट काठमाडौं पूर्ण रुपमा बन्द हुने बुझेका रहेछन् ।

    हामीले शनिबार कालीमाटी बजारमा तरकारी किन्न पुगेका अधिकांश ग्राहकहरुलाई यस्तो भिडभाडमा किन आउनुभयो ? भन्ने प्रश्न गर्दा उनीहरुको एउटै जवाफ थियो– सरकारले १० गतेबाट त बन्द गर्ने निर्णय गरेको छ नि ! हामीले पटक–पटक अत्यावश्यक सेवाहरु बन्द हुँदैनन् नि भन्दा उनीहरुले हाम्रो विश्वास गरेनन् । यसमा पनि सरकार चुकेको देखिन्छ । यसबाट सरकारले जनतालाई आफ्नो सन्देश प्रवाह गर्न नसकेको प्रष्ट हुन्छ ।

    शनिबार कालीमाटीमा दिनभर हजारौंको संख्यामा ग्राहकहरु तरकारी किनिरहेका थिए । कालीमाटी अधिकांश व्यपारीहरु आफू कालीमाटी बसेदेखि नै शनिबार जस्तो भिड नदेखेको बताउँथे । जहाँ २० वर्षदेखि कालिामाटीमा काम गरिरहेका व्यपारीहरु पनि थिए । हुन पनि शनिबार दिनभर कालीमाटीमा यति भिड थियो कि हामीले पनि कहिल्यै देखेका थिएनौं ।

    भारतबाट आउने आलु, प्याज तथा तरकारीले नेपाली बजार धानेको अवस्थामा बजारमा यसरी यति धेरै मानिसहरु एकैठाउँमा भेला हुँदा कसरी हामी सुरक्षित भएको महसुस गर्ने ? सरकारले किन अझै यस बारेमा सोचेको छैन ? कि ठूलाबडा, धनाड्य एवम् सांसद र मन्त्रीहरु मात्रै हो २५ जना भन्दा बढि भेला हुन नहुने ? यस्ता कयौं प्रश्नहरु उब्जिरहेका छन् । तर, अभैmसम्म पनि सरकारले यसको उत्तर दिन सकेको छैन ।

    हामीले यसो भनिरहँदा मानिसहरुलाई अत्यावश्यक पर्ने तरकारी एवम् खाद्यान्न किन्नै नदिएर कालीमाटी बजार नै बन्द गर्नुपर्छ भन्न खोजेको भने पक्कै होइन् । तर, कसरी सम्यमता अपनाउन सकिन्छ, त्यतातिर ध्यान दिनुपर्छ भन्न मात्र खोजेको हो । कोरोनाको मौकामा चौतर्फी रुपमा व्यापारीहरुले कालोबजारी गरीरहेका बेला हामीले नेपालकै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा शुक्रबार र शनिबारको अध्ययन गर्दा भने तरकारीमा भने कालाबजारी भएको पाएनौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकैकै मूल्यमा तरकारी तथा फलफूल विक्री भएका थिए । यद्यपी शनिबार अधिकांश तरकारीका मूल्य भने बढेको देखिन्थ्यो ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले शनिबार मात्रै ११६६ टन सामान बजार भित्रिएको बताए । अनलाईननेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले तरकारी ९९५ टन, फलफूल ९६ टन, मसलाजन्य ६० टन र माछा १५ भित्रिएको बताए । भारतबाट सबैभन्दा बढि आलु, प्याज र गोलभेडा भित्रिएको पनि उनले बताए । अरु बेला कालीमाटीमा ८५० टनको हाराहारीमा सामान आइरहेको भए पनि शनिबार भने अत्याधिक मात्रामा सामान भित्रिएको हो ।

    कालीमाटीमा तरकारी एवम् फलफूल तथा माछाको दुई दिनको मूल्यसूची :

    नाकाबाट जोखिमपूर्ण आउजाउ
    त्यसो त सरकारले नाकामा कडाई गरिरहेको बताइरहँदा कारोनाको संक्रमण रोक्नका लागि खासै सम्ममता अपनाएको देखिदैन । कोरोना संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक आवागमनमा कडाइ गरे पनि भारतसँगका अधिकांश नाकाबाट जोखिमपूर्ण आउजाउ भइरहेको छ । भारतमा संक्रमण विस्तारसँगै घर फर्कंने नेपालीको संख्या बढेकाले कतिपय नाकामा स्वास्थ्य जाँच त परै, भीड नियन्त्रण गर्नसमेत मुस्किल भएको छ । मुख्य नाकामा हेल्थ डेस्क राखिए पनि साना नाकाबाट आवागमन निर्बाध छ । यसमा पनि कतै सरकार चुकेको त छैन भन्ने देखिन्छ ।

    यद्यपी भारतबाट आएका २६ जनालाई दाङबाट फर्काइएको छ भने एकजनालाई आइसोलेसनमा पठाइएको छ । बाँकेको नेपालगञ्ज हुँदै दाङ प्रवेश गर्न लागेका २६ जना भारतीय नागरिकलाई उतै फिर्ता पठाइएको हो । नेपालगञ्जबाट गाडी रिजर्भ गरेर आएका उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँबाट फिर्ता पठाइएको हो । भारतबाट आएका घोराहीका एक जना १७ वर्षीय युवकलाई भने कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ ।

    भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू घर फर्किने क्रम पनि ह्वात्तै बढेको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार मात्रै ६ घण्टामा १३ हजार मानिस नेपाल प्रवेश गरेका छन् । प्रवेश गर्नेमा केही भारतीय नागरिकसमेत रहेको बताइएको छ । सीमा नाकामा कोरोना जाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको छ ।

    तर, उपकरण अभावका कारण सर्वसाधरणले घण्टौंसम्म लाइनमा बस्नु पर्ने वाध्यता देखिएको छ । हेल्थ डेस्कले कति धान्ने र कोरोना लागेको कसरी पत्ता लगाउने भन्ने प्रश्न पनि उब्जिएको छ । यसरी निर्वाध रुपमा नेपाल प्रवेश गर्दा हामी कसरी सुरक्षित रहन्छौं ? हुन त नेपाली नागरिकलाई नेपाल आउन दिनै हुँदैन भन्ने हाम्रो चाहना होइन् । तर, कोरोनाको संक्रमण रोक्न हामी कतै चुकिरहेका त छैनौं भन्ने हाम्रो भनाई हो ।

    अर्कोतिर सरकारले आजबाट अन्तर्राष्ट्रिय हवाइ सेवा बन्द गरेको बताइरहँदा गएराती प्रतिबन्धित मुलुकको यात्रु लिएर सिल्क एयरको विमानबाट काठमाडौं आयो । शनिबार राति करिब साढे ८ बजे अवतरण गरेको यात्रुसहितको उक्त विमानलाई नागरिक उड्डयन प्राधिकरणले उतै फर्काउने भन्दै २ यात्रुहरुलाई ओर्लन दिएन ।

    तर, विमानमा आएका ८५ यात्रुमध्ये तीन जनालाई मात्र क्वारेन्टाइनमा पठाइएर बाँकी सबैलाई आ–आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नू भनिएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । यसबाट पनि हामी कति सुरक्षित छौं भन्ने देखाउँछ । शनिबार नै थाई र एयर इन्डियाबाट आएका ६१ जनालाई भने भक्तपुरको खरिपाटी क्वारेनटाइनमा राखिएको छ । प्रतिवन्धित देशबाहेक अन्य देशबाट आएका नागरिकलाई सहज आवत जावत दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।

    अन्त्यमा,
    नेपाल सरकारले कोरोनाको संक्रमण रोक्नका लागि गरेको प्रयासलाई अझै प्रभावकारी बनाउँदै आफ्नो निर्णय कार्यान्वयनमा पछि हट्नु हुँदैन । यसै बेला नेपाल सरकारले सोच्नु पर्ने अर्को पाटो के हो भने कुनै सरकारी अस्पतालमा मागअनुसार क्षमता विस्तार नभएको अवस्थालाई मध्यनजर गर्दै आवश्यक भेन्टिलेटरसहितको उच्च प्रविधियुक्त अस्पताल निर्माण अहिलेको आवश्यकता हो । कोरोनाको संक्रमण हुनु पूर्वपनि आम जनताको माग अनुसार सुविधासम्पन्न अस्पताल शैयाहरु अभाव खड्कदै आएको थियो ।

    यदि हामीसँग सुविधासम्पन्न अस्पतालहरु हुन्थे भने केही हदसम्म भए पनि कोरोना जस्ता महामारीलाई रोकथाम गर्न सहज हुन्थ्यो । हुनत सरकारले कोरोनो संक्रमित भएको खण्डमा उनीहरुलाई राख्नका लागि अस्थायी अस्पताल भने निर्माण गरिरहेको छ । तरपनि यस्ता महामारी पटक–पटक नअउलान भन्न सकिन्न । त्यसैले प्रत्येक प्रदेशमा पर्याप्त आइसियु बेडसहित कम्तीमा एउटा ठूला सरकारी अस्पताल वा मेडिकल कलेज निर्माण गर्नु आवश्यक छ ।

    कोरोनाबाट बच्ने उपाय
    १. ज्वरो, रुघा–खोकीको समयमानै उपचार गर्ने
    २. नियमित रुपले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने
    ३. संक्रमित व्यक्ति संग उचित दुरी बनाउने
    ४. नाक, मुख र आँखालाई धेरै नछुने
    ५. हाछ्युँ गर्दा टिस्यु वा रूमालको प्रयोग
    ६. सकेसम्म भिडभाडमा नजाने, जानै परे सावधानी अपनाउने

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार