Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बेइजिङ–काठमाडौं भिडियो कन्फरेन्स आज

    बेइजिङ–काठमाडौं भिडियो कन्फरेन्स आज

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै चीनलाई औपचारिक पत्राचार गरेको छ । चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो ।

    नेपालले सहयोग लिने सूचीको विषयमा भने दुई मुलुकका स्वास्थ्य अधिकारीबीच शुक्रबार हुने भिडियो कन्फरेन्समा छलफल हुनेछ । त्यसक्रममा अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।



    ‘हामी चीनसँगको बेस्ट प्राक्टिस सिक्न चाहन्छौं । सहयोगका बारेमा स्वास्थ्य मन्त्रालयको तहबाट बेइजिङ–काठमाडौं भिडियो कन्फरेन्स हुन्छ,’ मन्त्री ज्ञवालीले भने, ‘के के सामान जरुरत छ भन्ने टेक्निकल पार्टसहित लिस्ट तयार हुँदै छ ।’



    चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोभिड–१९ संक्रमणलाई चिनियाँ सरकारले लगभग नियन्त्रण गरेको जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार ट्वीटमार्फत् वुहानसहित पूरा मुलुकमा कोरोना संक्रमण शून्य रहेको जानकारी दिएकी छन् । चीनले इटाली, स्पेन र फ्रान्सलाई आवश्यक सामग्री र चिकित्सक पठाएर सहयोग गरेको छ ।

    इटालीको राजधानी रोममा केही समयअघि चीनले विमान चार्टर्ड गरेर नौ सदस्यीय मेडिकल टोली पठाएको थियो । चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चीनकै रेडक्रस सोसाइटीले सात हजार भेन्टिलेटर र मोनिटरसहित अन्य स्वास्थ्य सामग्री इटालीलाई सहयोग गरेको छ । चीनले बुधबार फ्रान्समा स्वास्थ्य सामग्री पठाएको छ । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्रीईश्वर पोखरेलले चीनबाट आवश्यक सहयोगको विषयमा परराष्ट्र र अर्थ मन्त्रालयले तयारी गरेर काम अघि बढाइएको जानकारी दिए ।

    सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यक सामग्रीको सूची व्यवस्था तथा युद्धकार्य महानिर्देशनालयले तयार पारिरहेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले पनि आवश्यक सामग्रीको सूची तयार पारेर परराष्ट्र मन्त्रालयमा पठाएको परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले बताए । नेपालस्थित एक चिनियाँ उच्च कूटनीतिज्ञले असल छिमेकीका रूपमा चीनले नेपाललाई आवश्यक सहयोग गर्ने बताए । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार