Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अवैध एसएमएस बाइपासको धन्दा गर्ने भारतीय नागरिक पक्राउ

    अवैध एसएमएस बाइपासको धन्दा गर्ने भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा पहिलोपटक अवैध रुपमा एसएमस (मोबाइल सन्देश) बाइपास गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय प्रशान्त साह छन् ।
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंमा आधारित भएर अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्ने ती भारतीय नागरिकलाई पक्राउ गरेको हाे ।

    उनले काठमाडौं महानगरपालिका–२६ नरदेवीस्थित तुल्सी महर्जनको घरमा कोठा भाडामा लिएर अवैध रुपमा एसएमएस बाइपास गर्दै आएका थिए । साहले आधुनिक प्रविधिको प्रयोग गरी गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्दै आएका थिए ।



    उनले अत्याधुनिक प्रविधि (जीओआईपी गेटवे)को प्रयोग गरेर एसएमएस बाइपास गरेको देखिएको सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेले जानकारी दिए ।साह आफैंले अन्तर्राष्ट्रिय क्यारियरहरुसँग प्रत्यक्ष सम्पर्क गरी नेपालमा आउने एसएमएसहरु बाइपास गरी आफूले प्रयोग गरेको गेटवेमार्फत प्रापकसम्म पुर्‍याउने गरेको थिए ।



    महिनाको १५ हजार रुपैयाँ भाडा तिर्ने गरी कोठा भाडामा लिएका साहले घरधनीलाई आफू व्यवसायी भएको बताउने गरेका थिए । साहले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको इन्टरनेट प्रयोग गरेर अनलाइनमार्फत अन्तर्राष्ट्रिय क्यारियरहरुसँग सम्पर्क गर्ने गरेको प्रहरीले जनाएको छ ।

    सीआईबीका अनुसार साहले भारतबाटै अत्याधुनिक उपकरहरु ल्याएर नेपालमा एसएमएस बाइपासको धन्दा शुरु गरेका थिए । प्रहरीले उनको साथबाट ६४ पोर्टको जीओआईपी गेटवे १ थानसहित नेपाल टेलिकमका सिमकार्ड ३० थान, एनसेलका सिम १ सय ८५ थान, ल्यापटप, राउटर लगायतका उपहरणहरु बरामद गरेको छ । पक्राउ परेका साहविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ ।

    नेपालमा यसअघि भारतीय नागरिक समेतको संलग्नतामा अवैध रुपमा कल बाइपास हुँदै आएको थियो । तर, प्रहरीको सक्रियतामा अवैध कल बाइपास गर्ने धन्दा बन्द भएपछि भारतीय नागरिक साहले एसएमएस बाइपास गर्ने धन्दा शुरु गरेका हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार