Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोनाको प्रभाव : संसद् बैठकदेखि मुद्दाको सुनुवाइ स्थगित गर्ने तयारी

    कोरोनाको प्रभाव : संसद् बैठकदेखि मुद्दाको सुनुवाइ स्थगित गर्ने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि सङ्घीय संसद्का दुवै सदनको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने तयारी गरिएको छ। प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार सर्वपक्षीय परामर्श आह्वान गरेका छन्।

    सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पछिल्लो परिस्थिति अनुसार निर्णयका लागि सभामुखले परामर्श बैठक बोलाएको बताए। सर्वपक्षीय परामर्शपछि चैत ७ गतेका लागि बोलाइएको बैठक सञ्चालन हुने वा स्थगित हुने निर्णय सचिवालयले लिनेछ।



    राष्ट्रियसभातर्फ बिहीबार नै बैठक बोलाइएको छ। तर, दुवै सदनका प्रमुखहरू सदनको बैठक केही समय स्थगनको पक्षमा छन्। अधिवेशन अन्त्यबारे पनि सरकारको सिफारिस भइसकेको छैन।



    सांसदहरूले यसअघि पनि बैठकका काम कारबाही स्थगनको माग गरिरहेका छन्। तर, केही महत्त्वपूर्ण विधेयक पारितका क्रममा रहेको भन्दै सदन स्थगित गरिएको थिएन।

    सरकारले बुधवार पठनपाठनसहित परीक्षा समेत स्थगित गरेपछि सदनका गतिविधि रोक्न पनि दबाब परेको हो। यस्तै, जोखिम न्यूनीकरणका लागि सरकारले शैक्षिक संस्था समेत बन्द गरेको अवस्थामा सङ्घीय संसद् र न्यायपालिकाको काम कारबाही पनि तत्कालका लागि स्थगनको तयारी थालेकाे छ।

    जोखिम न्यूनीकरणका विषयमा छलफलका लागि सर्वोच्च अदालतले शुक्रवार फूलकोर्ट बैठक डोकेको छ। फूलकोर्ट बैठकबाट थप निर्णय गर्ने तयारी सर्वोच्च प्रशासनको छ।

    यसअघि मङ्गलवार नेपाल बार एशोसिएशनले अदालतका अत्यावश्यक बाहेकका अन्य काम कारबाही स्थगित गर्न सर्वोच्च अदालतसमक्ष माग गरेको थियो। सर्वोच्च अदालत बार एशोसिएशनले पनि अदालतका काम कारबाही स्थगन गर्न माग गरेको थियो।

    सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले बार एशोसिएशनको माग र पछिल्लो परिस्थिति अनुसार निर्णय लिन शुक्रवार फूलकोर्ट बैठक बोलाइएको बताए। ढकालले बैठकलाई ध्यानमा राखेर शुक्रबारका सबै पेसी स्थगित गरिएको पनि बताए। बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेक अन्य मुद्दाको सुनुवाइ स्थगन गर्ने तयारी अदालतले गरेको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार