Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बाँस्कोटाको अवतारका रुपमा देखिए स्वास्थ्यमन्त्री ढकाल

    बाँस्कोटाको अवतारका रुपमा देखिए स्वास्थ्यमन्त्री ढकाल

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 4.9K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल गोकुल बाँस्कोटाको अर्को अवतारका रुपमा प्रकट हुन थालेको उनकै कामहरुबाट देखिन थालेका छन् ।

    केपी शर्मा ओली सरकारमा बाँस्कोटाको क्षुद्रताले सीमा नाघिरहेको बेला उनी ७० करोड रुपैयाँ घुस डिल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि राजीनामा दिन बाध्य भए ।



    बाँस्कोटापछि ढकाल ओली सरकारका टर्राे बोल्ने मन्त्रीका रुपमा चिनिन थालेका छन् । तत्कालीन एमालेको गढमा वाम तालमेल हुँदा पनि झिनो मतान्तरले डा. सुनिल शर्मालाई पराजीत गरेका ढकालमाथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुँदा न्यायाधीश नियुक्तिका क्रममै चलखेलमा सामेल भएको आरोप लागेको थियो ।



    उपेन्द्र यादवले राजीनामा दिएपछि स्वास्थ्य मन्त्रीको जिम्मा पाएका ढकालले मन्त्रालय अन्तर्गतका नियुक्तिमा विद्यार्थी राजनीति गरेकालाई क्यान्सर अस्पतालदेखि मेडिकल काउन्सिलमा नियुक्ति गरेका छन् । विशुद्ध डाक्टर हुनुपर्ने मेडिकल काउन्सिलको सदस्यमा अखिलका पूर्वअध्यक्ष किशोरविक्रम मल्ललाई नियुक्त गरेका छन् ।

    वीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको सदस्यमा अखिलको अनुशासन आयोगकी अध्यक्ष रहेकी निशा अधिकारीलाई नियुक्त गरेका छन् । अखिलको एकता प्रक्रिया टुंगिनुअघि उनी अनुशासन आयोगको अध्यक्ष थिइन् । अर्का अखिलकै केन्द्रीय सदस्यबाट भर्खरै छाडेका रामप्रसाद न्यौपानेलाई पनि उनले क्यान्सर अस्पताल भरतपुरको सदस्य बनाएका छन् ।

    त्यसैगरी ट्रमा सेन्टरको निमित्त निर्देशकमा डा. सन्तोष पौडेललाई नियुक्त गरेका छन् । ट्रमा सेन्टरको कार्यकारी निर्देशकका लागि बरिष्ठ चिकित्सक नवीन पोखरेल, भोजराज ढकाल हुँदाहुँदै कनिष्ट पौडेललाई नियुक्त गरेका हुन् ।
    स्वास्थ्य मन्त्री ढकालले पार्टीका महासचिवदेखि शीर्षस्थ नेताहरुले स्वास्थ्य ब्यवसायी परिषदको रजिष्टारमा नेकपा निकट स्वास्थ्यकर्मीलाई नियुक्त गर्न दिएको निर्देशन अवज्ञा गरेका छन्

    । र, आफ्ना भाञ्जीज्वाई नाता पर्ने पुष्पमणि खनाललाई नियुक्त गरेका छन् । उपेन्द्र यादवले भ्रष्टाचारको आरोपमा मन्त्रालयमा तानेका औषधि ब्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई मन्त्री ढकालले ठूलो आर्थिक लाभ लिएर ससम्मान जिम्मेवारीमै फर्काएका छन् । ढकालले गुणस्तरहीन भारतीय औषधि सिफारिस गरी करोडौैं घुस लिएकोबारेमा अख्तियारले छानबिन गरी विशेष अदालतमा मुद्दा दायर गर्र्नेे तयारी गरेको छ ।

    तर, तिनै ढकालसँग उनको घाँटी जोडिएको छ । ढकालले यथोचित आर्थिक स्रोतको ब्यवस्था गरेकाले उनलाई पुनः विभागको महानिर्देशकमा फर्काइएको स्रोतले बताएको छ ।

    त्यसैगरी, मन्त्री ढकालले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिल शर्मा सँग पनि निजी सचिव लीलाराज पौडेलमार्फत् आर्थिक लाभ लिएर थमौती गरेको स्रोतले बतायो । उनी २ बर्ष अघिदेखि केन्द्रको निर्देशक छन् ।

    केन्द्रको जनचेतनाको करोडौं बजेटमा ७५ प्रतिशत भ्रष्टाचार गर्न पल्किएका जोशीले मन्त्री ढकालका पीए पौडेलमार्फत् आर्थिक चलखेल गरी थमौती भएका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालहरुको उपकरण खरिद र मर्मतमा एकाधिकार पाएका ब्यापारी विशाल पण्डितको प्रभाव पनि मन्त्रालयमा उत्तिकै छ ।

    अस्पतालहरुमा उपकरण खरिदको बजेट हाल्न लगाउने र बजेट हाल्ने क्रममै उपकरणको स्पेक पण्डितले आयात गर्ने कम्पनीहरुसँग मिल्ने गरी बनाउन लगाउने गरेका छन् । पण्डित र मन्त्रीका पीए पौडेलको बाक्लै उठबस हुँदै आएको छ । पण्डितले सिंहदरबार नै छेक्नेगरी बनाएको होटल इमिरो प्लाजा जफत गर्नुपर्ने गृहमन्त्रालयको प्रतिवेदन पनि अहिलेसम्म कार्यान्वयन गरिएको छैन । उनले सरकारमै प्रभावमा पारी होटल जफतबाट रोकेका छन् ।

    राष्ट्रिय अनुसन्धान विभागको मुख्यालयभन्दा बढीमा २५ मिटर दूरीमा रहेको नौ तले उक्त भवनमा होटेल सञ्चालन गर्ने भनिएपछि चौतर्फी सरकारको आलोचना भएको थियो । मुलुकको प्रमुख प्रशासनिक केन्द्रनजिक अग्लो भवनमा होटेल सञ्चालन गर्न दिँदा सुरक्षा खतरा बढ्ने भन्दै दबाब परेपछि अधिग्रहण गर्ने निर्णय गर्न सरकार बाध्य भएको थियो ।

    मेडिकल उपकरण माफियाका रुपमा चिनिएका पुष्कर पण्डित र विशाल पण्डित (दाजु/भाई)ले निर्माण गरेको सो भवन गृहमन्त्रालयले अधिग्रहरण गर्ने निर्णय गरेपनि उनीहरु उक्त निर्णयलाई चुनौती दिँदै सो भवन भवनमा होटल इमिरो प्लाजा खोलेका छन् ।

    सरकारलाई नै चुनौती दिएर स्वास्थ्यका उपकरण पचासौं गुणा महंगोमा सरकारी अस्पताललाई बिक्री गरी होटल निर्माण गरेका पण्डितको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानबिनका लागि उजुरी दिए पनि त्यहाँ पनि उनले मिलाएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी त उनले छानबिन नै हुन नदिई तामेलीमा हाल्न दिने गरेको पाइन्छ । उनका बिरुद्ध उपकरण खरिद र मर्मतमा बीसौैं करोड रुपैयाँ भ्रष्टाचार गरेका उजुरी अख्तियारमा परे पनि अनुसन्धान नै भएका छैनन् ।

    उपकरण मर्मतमा मात्रै गतबर्ष १४ करोड रुपैयाँ पण्डितले भ्रष्टाचार गरेको कुरा महालेखा परीक्षकको बार्षिक प्रतिवेदनमा उल्लेख छ । उपकरण नै मर्मत नगरी उनले उक्त रकम भुक्तानी लिएको बिषय महालेखाको प्रतिवेदनमा उल्लेख छ । (यूनाइटेड पोस्ट साप्ताहिक )

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार