Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • डिजेलमा मिसाइन्छ मट्टीतेल!

    डिजेलमा मिसाइन्छ मट्टीतेल!

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको छ । मट्टीतेल मिसाइएका डिजेलका थप २० ट्यांकर बाटोमै रोकेर राखिएको छ ।

    थानकोट डिपोमा तेल ओसार्ने करिब दुई सय ट्यांकरको ताल्चा खोल्ने साझा साँचो (मास्टर की) हराएपछि यति धेरै ट्यांकरमा मिसावटको घटना भेटिएको हो । अहिले तेल मिसावट भएका सबै ट्यांकर हराएको एउटै साँचोले खोल्न मिल्छ ।



    ट्यांकरचालकले साँचो दुरुपयोग गरी डिजेल लोड भएको ट्यांकरमा मट्टीतेल मिसाएर आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुमान गरिएको छ ।



    स्रोतका अनुसार भारतमा कोटा र प्रचलित दर गरेर दुई प्रकारका मट्टीतेल उपलब्ध छन् । डिजेलभन्दा दुवै प्रकारको मट्टीतेल धेरै सस्तो पर्छ । आइओसीले कोटाको मट्टीतेल मूल्य १३.६० देखि ३८.५८ भारुसम्म निर्धारण गरेको छ । मुनाफा जोडिएको मट्टीतेलको मूल्य दिल्लीमा ५८.८१ भारु छ । तर, डिजेलको मूल्य भने दिल्लीमा ६३.०१ भारु निर्धारण गरिएको छ । कोटामा पाइने मट्टीतेलभन्दा डिजेलको मूल्य कम्तीमा दोब्बर छ ।

    ट्यांकरचालकले भारतमा कोटाको मट्टीतेल बिक्री गर्ने डिलरसँग सम्पर्क बढाएका हुन्छन् । आइओसीको डिपोआसपासमै कोटाका मट्टीतेल बिक्रीकेन्द्र पाइन्छ । त्यस्तै, कतिपय भारतीय पेट्रोल पम्पले ट्यांकरचालककै लागि भनेर कोटाको मट्टीतेल राखिदिएका हुन्छन् । ट्यांकरचालकहरूले सकेसम्म कोटाकै मट्टीतेल उठाउने गरेका छन् । त्यसपछि कोटाको मट्टीतेल जति पाइन्छ, त्यति नै बराबरको डिजेल ट्यांकरबाट निकालेर मट्टीतेल हालिदिन्छन् । यसरी सस्तो मट्टीतेल ट्यांकरमा हालेर चालकले महँगो डिजेल झिक्छन् र भारत तथा नेपालका सीमावर्ती क्षेत्रमा रहेका पम्पमा बिक्री गर्छन् ।

    चोरी गरेर बिक्री गरेको मट्टीतेलको पैसा चालकले ढुवानी व्यवसायी र कर्मचारीलाई समेत बुझाउने गरेका छन् । तीनै पक्षको मिलेमतोमा चोरी हुने भएकाले दोषी कारबाहीबाट जोगिने गरेका छन् । नयाँ पत्रिका

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार