Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एनआरएनए अध्यक्ष पन्तलाई कालो झण्डा!

    एनआरएनए अध्यक्ष पन्तलाई कालो झण्डा!

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 3.6K
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सव भनेर आयोजना गरिएको कार्यक्रममा भाग लिन जर्मनीबाट बेलायत पुगेका एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तलाई कार्यक्रमस्थलमै कालो झण्डा देखाइएको छ। एनआरएनको इतिहासमै कालो झन्डाले स्वागत गरिने पन्त पहिलो अध्यक्ष हुन्।

    ‘धेरै साथीहरुले यहाँ नआउनु भन्नुभएको थियो, तर एनसीसीले निम्ता गरेपछि म जान्छु भनेँ’ पन्तले भने। एनआरएनका निर्वाचित पदाधिकारीहरु तथा कैयौं सल्लाहकार तथा संस्थापकहरुले बहिस्कार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले आफू धेरै एनसीसीहरुमा पुग्ने गरेको तर यो टाइपको बानिव्यहोरा बेलायतमा मात्रै देखाइने गरेको भन्दै आक्रोश पोखेका थिए।



    कार्यक्रम शुरु भएको केही बेरमा एनआरएन युकेसँग आवद्ध केही महिला अभियन्ताहरुले ‘आर्थिक अनियमितताको छानबिन गर, कुमार पन्त फिर्ता जाउ’ भन्दै कालो झण्डा देखाएका थिए। उनीहरुले लन्डनस्थित नेपाल दूतावासले विवादित कार्यक्रममा प्रतिनिधि पठाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। तर शान्तिपूर्ण विरोध गरिरहेका ती महिलाहरुमाथि एनआरएन युकेका केही व्यक्तिहरुले हातपात र लछारपछार गरेका थिए।



    एनआरएन युकेका निवर्तमान अध्यक्ष योगकुमार फगामीले नेतृत्व गरेको कार्यसमितिले करौडौं रकम घोटाला गरेको भन्दै विरोध भइरहेको छ। तर एनआरएन युकेको नयाँ कार्यसमितिले अझै छानबिन समिति गठन गरेको छैन।

    कार्यक्रममा बोल्दै एनआरएनएका केन्द्रीय महासचिव डा. हेमराज शर्माले एनआरएनए अहिले २५ करोड घाटामा गएको बताए। ‘एनआरएनलाई क्यान्सर लागि सकेको छैन, बच्ने सम्भावना छ,’ उनले भने। उनले एनआरएनको केन्द्रीय भवन प्रकरणबारे एक समितिले अध्ययन गरी छिट्टै एउटा श्वेतपत्र प्रकाशित गरिने जानकारी दिए।

    निकै प्रचार प्रसार गरिएको कार्यक्रममा झण्डै १०० जनाको मात्र उपस्थिति थियो। एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले संस्थाको विवाद संस्थाभित्रै छलफल गरिनुपर्ने बताइन्। तर सिंगो कार्यसमितिलाई बाईपास गरेर केन्द्रबाट मनोनित आइसीसी सदस्य रामशरण सिम्खडालाई आर्थिक कारोबारसमेत गर्ने गरी किन कार्यक्रम संयोजक बनाइयो भन्ने प्रश्नको उनले जवाफ दिइनन्।

    एनआरएन युकेका चारजना उपाध्यक्ष तथा कोषाध्यक्षले बुधबार राति एक पत्रकार सम्मेलन गरी कार्यसमितिको अनुमोदन बिना नै सल्लाहकारहरु घोषणा गरिएको भन्दै विधान विपरीत आयोजित कार्यक्रममा आफूहरु नजाने घोषणा गरेका थिए। निर्वाचित उपाध्यक्षहरु प्रेम गाहामगर, नारायणदत्त कँडेल, रामचन्द्र पोखरेल, मोहन कार्की, कोषाध्यक्ष तेजेन्द्र रोका मगर लगायतले कार्यक्रम बहिस्कार गरेका थिए।

    एनआरएन युकेका कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उक्त विवादित कार्यक्रमको आय व्ययको छानबिन गरिने जनाएका छन्। विश्वभरि कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला खादा र माला लगाउने एउटा औपचारिक कार्यक्रममा आएर अध्यक्ष पन्तले बेलायतस्थित नेपाली समाजलाई भाँड्न रातदिन सक्रियहरुलाई नै सघाएको भन्दै चर्कौ आलोचना भएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार