Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कोइलाको अभाव भएपछि इँटा उद्योग बन्द

लहान । दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् । सोका कारण इँटाको मूल्यवृद्धि गरिएको छ । दक्ष कामदारको अभाव हुनु, कोइलामा सहज आपूर्ति नहुनु, कोइलामा भएको मूल्यवृद्धि, पूँजीको समस्या र करलगायतका कारणले इँटा उद्योग बन्द भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता भई लामो समयदेखि इँटा उत्पादन गर्दै आएका ती उद्योग विगत दुई वर्षदेखि बन्द भएका सप्तरी इँटा व्यवसायी सङ्घले जनाएको छ ।

'अधिकांश इँटा उद्योगमा काम गर्ने मजदूर प्रायः भारतीय नागरिक थिए, तर बिस्तारै ती कामदार काम छाडेर घर गएपछि यतिबेला दक्ष कामदार चरम अभाव भएको छ', अध्यक्ष दुर्गानन्द साहले भने, 'इँटा बनाउनेदेखि पोल्नेसम्मका कामदार नपाइएपछि ती इँटा उद्योगले इँटा उत्पादन बन्द गरेका हुन् ।' यसका साथै इँटा पोल्न कोइलासमेत सहजरुपमा आपूर्ति नहुने गरेको र इँटा उद्योग सञ्चालनका लागि पूँजीसमेत थप्नुपर्ने अवस्थाका कारण ती इँटा उद्योग बन्द भएका उनको भनाइ छ ।

'इँटा उद्योगमा चाहिने कोइला भारतको विभिन्न नाकाबाट आउने गरेकामा सस्तो थियो, तर यस वर्ष भारतको सुनौली नाकाबाट मात्र कोइला निर्यात हुने गरेकाले तेस्रो मुलुकबाट कोइला ल्याउनुपर्ने स्थिति सिर्जना भएको छ', अर्का इँटा व्यवसायी मो हफिजले भने , 'एकातिर कामदारको समस्या छ, अर्कोतिर कोइला अमेरिका र इण्डोनेसियालगायतका तेस्रो मुलुकबाट ल्याउनु पर्दा महँगोसँगै पनि समयमा नआउने अवस्था छ, जसका कारण उद्योग सञ्चालन गर्नै गाह्रो भएका छन् ।'रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077