काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रिया गरेकाे केही घण्टापछि होस खुलेको छ। शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो।
बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको छ ।
‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेको छ। प्रधानमन्त्रीले पिशाव पनि फेर्नुभएको छ।’
प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शन गरिएका छन्।
Leave a Reply