Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीको आज मिर्गौला प्रत्यारोपण गरिँदै

    प्रधानमन्त्री ओलीको आज मिर्गौला प्रत्यारोपण गरिँदै

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् । ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए ।

    शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दै छ । बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिने डा। ज्ञवालीले बताए । पाँच घन्टामा प्रत्यारोपणको काम सकिनेछ ।



    प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा।डा। अनन्तकुमार पनि काठमाडौं आएका छन् । नेपाल मेडिकल काउन्सिलले मंगलबार उनलाई ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिएको छ । ओलीले ०६४ मा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए ।



    चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ । ‘प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ, उहाँको मनोबल युवाहरूको जस्तो छ । प्रत्यारोपणका लागि उहाँको स्वास्थ्य एकदम ठीक छ,’ डा। ज्ञवालीले भने । स्वदेशमै प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णयले सबै चिकित्सकमा ऊर्जा थपिएको उनले बताए ।

    प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको डायलाइसिस गर्नुका साथै पिसाब, रगत, छाती र दाँतको परीक्षण गरिएको थियो । सबैको रिपोर्ट सामान्य देखिएको छ । चिकित्सकहरूका अनुसार उनलाई प्रत्यारोपण गर्नुपूर्व दिइने प्रि–औषधिहरू दिन सुरु गरिएको छ । यसअघि नै प्रधानमन्त्री ओलीको मुटु, फोक्सो र कलेजोको परीक्षण भइसकेको छ । ओलीलाई शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनमा राखिएको छ ।

    वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार प्रत्यारोपण गर्नुअघि मुख्य रूपमा मुटु हेरिन्छ । ‘प्रत्यारोपण सफल–असफल हुने मुटुले निर्धारण गर्छ । प्रधानमन्त्रीको सबै स्वास्थ्य ठीक भएकाले प्रत्यारोपण गर्न लागिएको हो,’ काफ्ले भने ।

    प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने सर्जिकल टिममा डा. ज्ञवाली र डा. शर्माबाहेक डा. पवन चालिसे, डा. सुमन चापागाईं पनि छन् । भारतबाट आएका डा. अनन्तकुमार ‘ब्याक सपोर्ट’मा रहनेछन् । त्यस्तै, मेडिकल टिममा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मकुन्द काफ्ले, डा. रविन नेपाली छन् ।

    एनेसथेसियासहित क्रिटिकल केयरमा डा. सुवास आचार्र्य र डा. अनिल श्रेष्ठ खटिएका छन् । पुनम सिन्हाको नेतृत्वमा पाँचजनाको नर्सिङ टोली छ । त्यस्तै, कलेजोमा समस्या देखिए डा. रमेशसिंह भण्डारी, फोक्सोमा समस्या देखिए डा. सन्तकुमार दास र मुटुमा समस्या देखिए डा. अरुण सायमी पनि तयारी अवस्थामा रहनेछन् ।

    शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया कलेजो प्रत्यारोपण गर्ने अप्रेसन थिएटरमा गरिनेछ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शल्यक्रियापछि उनलाई नियमित आइसियूमा नराखेर कलेजो प्रत्यारोपण युनिटकै आइसियूमा राखिनेछ ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार साँझ शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले केहीबेर ओलीसँग कुरा गरेका थिए । त्यसअघि अस्पताल पुगेका पर्यटनमन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् ।

    उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको उपचारबारे कुनै पनि सूचना बाहिर नदिने निर्णय भएको छ । मंगलबारदेखि प्रत्यारोपण टिमबाहेक अरूलाई कलेजो प्रत्यारोपण युनिटमा प्रवेशमै रोक लगाइएको छ ।

    प्रत्यारोपण सम्पन्न भएपछि भने अस्पतालले प्रत्येक दिन विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनेछ । तर, चिकित्सकहरूले पत्रकारसँग सवाल–जवाफ भने गर्नेछैनन् ।

    दशजनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण, सबै सफल
    नेपालमा ८ अगस्ट २००८ मा पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण थालिएको हो । ६ माघ ०६९ देखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि मिर्गौला प्रत्यारोपण सेवा दिन थाल्यो । ०६८ मा केन्द्रको स्थापना भएको थियो ।

    देशभर हालसम्म एक हजार पाँच सयको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्यसमध्ये करिब सात सयको प्रत्यारोपण शिक्षण अस्पतालमा भएको युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका सर्जन प्रा।डा। प्रेमराज ज्ञवालीले बताए । त्यसको सफल दर ९८ प्रतिशत छ ।

    नेपालमै १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । ती सबै सफल भएका छन् । डा। ज्ञवालीका अनुसार शिक्षण अस्पतालमा मात्रै आठजनाको दोस्रोपटक प्रत्यारोपण भएको छ भने दुईजनाको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरिएको छ । ‘प्रधानमन्त्री केपी ओली ११औँ नम्बरमा पर्नुभएको छ,’ उनले भने । यसअघि प्रत्यारोपण गरिएका सबै सामान्य ढंगले जीवनयापन गरिरहेको उनले बताए ।

    प्रत्यारोपण गर्ने प्रा।डा। प्रेमराज ज्ञवाली भन्छन्–प्रधानमन्त्रीमा युवाको जस्तो मनोबल

    प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको छ । नेपालमा हुन लागेको प्रत्यारोपणले समग्र चिकित्सकमा ऊर्जा थपिएको छ । प्रधानमन्त्री प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ । उहाँको मनोबल युवाहरूमा जस्तो छ ।

    प्रत्यारोपण गर्न उहाँको स्वास्थ्य ठीक छ । प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार प्रि–डायलाइसिस, रगत, पिसाब जाँच गरिएको छ । सबै परीक्षणको रिपोर्ट राम्रो आएको छ ।

    साउन ०६५ मा पहिलोपटक त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण थालिएको हो । त्यस्तै, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माघ ०६९ देखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको हो । नेपालभर हालसम्म १५ सयजनाको मिर्गौला प्रत्यारोपण भएको छ । जसमा शिक्षण अस्पतालमा मात्रै करिब सात सयको संख्यामा प्रत्यारोपण भएको छ । त्यसको सफल दर ९८ प्रतिशत छ ।

    नेपालमै १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । शिक्षण अस्पतालमा मात्रै आठजनाको दोस्रोपटक प्रत्यारोपण भएको छ भने दुईजनाको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरिएको छ । ती सबै सफल भएका छन् । नेपालमा प्रत्यारोपणका लागि उच्चस्तरका उपकरणहरू छन् । नयाँ पत्रिका

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार