विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मर्नेको संख्या ३ हजार १ सय २५ पुगेको छ। पछिल्ला दिन कोरोना भाइरसको संक्रमित संख्या चीनमा घट्दै गएको छ भने दक्षिण कोरिया, इरान, इटाली, अमेरिकामा लगायतका देशमा बढ्दै गएको छ। मानव बसोबास रहेका सबै महादेशमा कोरोना भाइरसका संक्रमित भेटिएका छन्।
पछिल्लो रिपोर्ट अनुसार मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ४४ पुगेको छ। यस्तै, दक्षिण कोरियामा ३४, इटालीमा ५२, इरानमा ६६, जापानमा ६, फ्रान्समा ३, अमेरिकामा ६, हङकङमा २ र थाइल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो, र फिलिपिन्समा एक-एक जनाको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको छ।
सोमबारमात्र ६ सय २ जना मा कोरोना भाइरसका संक्रमण देखिएको छ। विश्वभरि हालसम्म ९० हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जसमध्ये ३ हजार १ सय २५ जनाको मृत्यु भएको हो। हालसम्म संक्रमितमध्ये ४८ हजार १ सय २९ जना उपचार पश्चात स्वास्थ्य लाभ गरेका छन्।
हालः विश्वभर ३९ हजार ६ सय ६६ जना कोरोना भाइरसका संक्रमित विश्वका विभिन्न अस्पतालमा उपचारत छन्। यीमध्ये ३२ हजार ५ सय ७२ जनाको अवस्था सामन्य छ भने ७ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ। हालसम्म विश्का ७६ देश तथा भूभागमा कोरोना भाइरसका बिरामी भेटिएका छन्।
सन् २०१९ डिसेम्बरको अन्तिम साता कोरोना भाइरस पहिलो पटक चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो । त्यसपछि यो भाइरस विश्वभर फैलने क्रममा रहेको छ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।
विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताए ।
Leave a Reply