काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका झण्डै १ सय देशमा फैलिएको छ । जसका कारण हालसम्म ३ हजार ५३ जनाको को मृत्यु भइरहेको छ भने ८८ हजारभन्दा बढी संक्रमित बनेको तथ्यांक सार्वजनिक भएको छ ।
कोभिड–१९ का कारण चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ। चिनियाँ स्वास्थ्य आयोगका अनुसार चीनमा आइतबार थप २०२ जनामा संक्रमण देखिएको छ। चीनमा पछिल्लो समय मृत्यु हुने र संक्रमितको संख्या घट्दै गएको छ। सोमबार बिहानसम्म चीनमा २ हजार ९ सय १२ जनाको मृत्यु भएको छ भने ८० हजार २६ जनामा संक्रमण देखिएको छ।
चीनपछि सबैभन्दा बढी इरानमा ५४ जनाको मृत्यु भएको छ। सोमबार बिहानसम्म इरानमा ९सय ७८ जनामा संक्रमण देखिएको छ।
त्यस्तै चीनबाहिर सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा रहेका छन्। दक्षिण कोरियामा सोमबार बिहानसम्म संक्रमितको संख्या ४ हजार २ सय १२ पुगेको छ भने मृतकको संख्या २२ पुगेको छ।
युरोपेली मुलुक इटालीमा आइतबार मात्रै थप ५ सय ७३ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इटालीमा एक हजार ७ सय १ जनामा संक्रमण देखिएको छ। इटालीमा ४१ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै डायमन्ड प्रिन्सेस पानीजहाजमा ७ र अन्य ठाउँमा ६ गरी जापानमा १३ जनाको मृत्यु भइसकेको छ। जापानमा संक्रमितको संख्या ९ सय ६१(पानीजहाजमा ७०५) रहेको छ।
त्यस्तै अमेरिका, फ्रान्स र हङकङमा २–२ जनाको मृत्यु भएको छ। त्यस्तै थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सान मारिनो, र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ।
Leave a Reply