Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • राजनीतिक विश्राम लिने मुडमा ओली, ईश्वर असफल भएपछि वामदेव अघि सार्दै राष्ट्रपति

    राजनीतिक विश्राम लिने मुडमा ओली, ईश्वर असफल भएपछि वामदेव अघि सार्दै राष्ट्रपति

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 3.4K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुई तिहाई वहुमत निकटको नेकपाको सरकारमा दोस्रो वरियताको हैसियत पाए पनि आफ्नो भूमिकाबाट नेतृत्व विकास गर्न नसकेको भन्दै नेकपा भित्र तिव्र असन्तुष्टी हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवस्ता र स्वास्थ्यका कारण वारम्बार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाए पनि ईश्वरले मन्त्रिपरिषदबाट प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो आउन थालेको हो । नेतृत्व क्षमता ईश्वरले देखाउन नसकेपछि साउन अन्तिम साता स्वास्थ्य परिक्षण गर्न सिंगापुर गएका प्रधानमन्त्री ओलीले आफै भिडियो कन्फेरेन्स गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गरेका थिए ।

    २०६१ सालमा आधा प्रतिगमन सच्चियो भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएका ईश्वरले १९ माघ २०६१ मा तत्कालिन राजा ज्ञानेन्द्रले शाही साशन लाद्ने घोषणा गर्दा नगद रकम नै पानी ट्यांकीमा लुकाएको भन्ने हल्ला फैलिएको थियो । तत्कालिन नेकपा एमालेका कतिपय नेताहरुले अहिले पनि ईश्वरमाथि त्यही दृष्टान्त दिने गरेका छन् । तत्कालिन नेकपा एमालेको आठौं महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएका झलनाथ खनालको प्यानलबाट महासचिवमा ईश्वरले जितेका थिए । केपी ओलीले पूर्ण विश्वास नगरे पनि नवौं महाधिवेशनमा ईश्वर केपी ओलीकै प्यानलबाट महासचिव जितेका थिए । २०७५ साल जेठ तीन गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरण भइ नेकपा गठन हुँदा ईश्वरलाई बल्ल बल्ल सचिवालय सदस्य बनाइएको थियो । नेकपाको महासचिवमा भने तत्कालिन एमालेका उपमहासचिव विष्णु पौडेललाई बनाइएको थियो ।



    दुवै पार्टी एकीकरण भएपछि सरकारमा दोस्रो मर्यादाक्रम पाएका इश्वरले प्रभावकारी भूमिका खेल्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बामदेव गौतमलाई केपी ओलीको उत्तराधिकारीको रुपमा अघि सारेको स्रोत बताउँछ । वामदेवले पार्टी एकीकरण नहुँदै नेकपा माओवादी र नेकपा एमालेवीच गठबन्धन गरी आमनिर्वाचन लड्दा आफूलाई भावी प्रधानमन्त्री भन्दै प्रचार गरेपछि केपी ओलीले वामदेवलाई हराउन गोप्य सर्कुलर गरेका थिए । वामदेवले तत्कालिन माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको गोप्य सल्लाहमा दुवैले पाँच वर्ष आलोपालो सरकार चलाउने भन्ने थियो । संघीय संसदमा नेकपाका साराका सारा उम्मेदवारले विजयको माला पहिरिँदा वामदेव मात्र यस्ता अभागी नेता थिए, जसले वर्दियामा एमाले र माओवादीले पाएको मत जोड्दा कांग्रेसका उम्मेदवार संजय गौतमको भन्दा २९ हजार बढी मत हुँदा पनि पराजयको पीडा सहनु प¥यो । उनी आफ्नो संघीय संसदमा अनुपस्थितिको खल्लो अनुभव मेट्न डोल्पा, बर्दिया, दैलेख हुँदै काठमाडौं ७ मा नेकपाबाट निर्वाचित सांसदलाई राजिनामा दिन लगाएर उपनिर्वाचनबाट संसदमा जाने सिँढी चढ्न चाहन्थे । तर, वामदेवको यो योजनामा अध्यक्ष ओली नै वाधक भएपछि उनले ओलीविरुद्ध मोर्चाबन्दी गरेका थिए । आफूलाई संसदमा छिर्ने सबै ढोका बन्द गर्ने आलीले राष्टिय विकास प्राधिकरणको अध्यक्ष समेत हुन नदिएको तिक्तता वामदेवले पचाएर बसेका थिए । तर, परिस्थिति यस्तो आईदियो कि वामदेवलाई साथमा लिएर पार्टी संगठनमा राम्रो पकड जमाएका माधवकुमार नेपालले ओलीलाई पार्टी र सरकारमा पेलान दिन थाले ।



    नेकपा एमालेमा १५ वर्ष महासचिव भएर संगठनमा राम्रो पकड जमाएका माधव नेपालबाट आफ्नो पद धरापमा पर्ने देखेका ओली अन्ततोगत्वा उनै वामदेवलाई हतियार बनाउन वाध्य भए । ईश्वर पोखरेलले केपी शर्मा ओलीको उत्तराधिकारीको रुपमा पार्टी र सरकारमा भूमिका खेल्न नसकेको निष्कर्ष निकाल्दै सेरेमोनियल राष्टपति विद्यादेवी भण्डारीले ईश्वरको विकल्पमा वामदेवलाई अघि सारेकी हुन् । ओली संकटमा पर्दा संयोजन र कवजको भूमिका खेल्न नसकेको, अर्का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’लाई विश्वासमा लिएर अघि बढ्न नसकेको भन्दै इश्वरलाई साइड लगाउन ५ नम्वर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल र १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले भूमिका खेलेका थिए । एमालेका तत्कालिन महासचिव तथा जनताको बहुदलिय जनबादका प्रणेता स्व.मदन भण्डारीको सैद्धान्तिक पक्षको व्याख्याता शंकर पोखरेललाई अघि बढाउने योजना बमोजिम वामदेवलाई नै अघि सारिएको स्रोतले जनायो । राष्ट्रपति भण्डारीकै डिजाइन र सल्लाहमा शंकर पोखरेलको गृह जिल्ला दागबाट प्रतिनिधिसभा सदस्य हुँदै सभामुख जस्तो संवैधानिक पदमा पुगेका कृष्णबहादुर महरालाई संसद सचिवालयको कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको अभियोगमा साढे ४ महिना थुनामा राखिएको थियो । शंकरको गृह जिल्लाका प्रतिष्पर्धी महराको नैतिकता र आचरणमा दाग लागेपछि शंकरलाई अघि बढाउन सजिलो भएको राष्ट्रपति भण्डारीको बुझाई छ । त्यस्तै, शंकरसँगै एमालेमा उपमहासचिवमा चुनाव लडेर जितेका विष्णु पौडेललाई साईजमा ल्याउन उनीमाथि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दाग लगाइएको छ । एकातिर एक सय ७५ जनामाथि मुद्धा लागेपनि विष्णुले छोरा नविनको नाममा किनेको ८ आना जग्गा फिर्ता गरेको घोषणासँगै तत्काललाई जोगाइएको थियो ।

    शंकर पोखरेललाई अघि बढाउने नाममा राष्ट्रपति भण्डारीले २०७४ को संघीय संसदको निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको सांसद बनाउने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तराधिकारीको रुपमा विश्वासिलो व्यक्ति खोजी गर्दा वामदेव नै उपयुक्त पात्र भएको निष्कर्ष निकालिएको छ । ईश्वरले पार्टीका असन्तुष्ट नेता र कार्यकर्तालाई समेट्न नसकेको र सरकारको वचाउ समेत नगरेको गुनासो राष्ट्रपति भण्डारीसमक्ष पुगेको थियो । स्वास्थ्य स्थिति विग्रिएसँगै ओलीको विश्वासिलो उत्तराधिकारीको खोजिमा रहेकी भण्डारी गुटले वामदेवलाई रोजेको हो । बामदेवलाई अघि सारेपछि ओलीका विरोधी भनेर चिनिएका माधवकुमार नेपालदेखि अर्का अध्यक्ष प्रचण्डलाई समेत काउन्टर दिने विश्वास गरिएको छ ।

    वामदेव गौतमलाई मित्र राष्ट् भारतको समेत समर्थन र सहयोग हुने भएपछि राष्ट्रपति भण्डारीको डिजाईनमा वामदेवलाई राष्ट्रियसभामा ल्याउने र सरकारको उपप्रधानमन्त्री तथा अर्थ मन्त्री बनाउने खेल भइरहेको छ । तर, यो खेलको शुरुआत वामदेवले शितलनिवासबाट नभए आफूसँग विगतदेखि नै व्यक्तिगत सम्वन्ध भएका अर्का अध्यक्ष प्रचण्डसँग सांसद हुँदै उपप्रधानमन्त्री र संकट आईपरेमा वा आवश्यकता परेमा प्रधानमन्त्री हुने बाटो खोल्ने योजना अघि सारिएको छ । त्यसको लागि संविधान संशोधन गरी प्रतिनिधिसभामा चुनाव हारेको व्यक्ति त्यही कार्यकालमा मन्त्रिपरिषद्को सदस्य हुन पाउने र राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने वाटो खुल्ला गर्न खोजिएको हो ।

    वामदेवलाई प्रधानमन्त्री हुने बाटो खुलाउने गरी संविधान संशोधन गर्नका लागि माधव नेपाल पनि तयार भएको स्रोतले जनायो । ओलीलाई सत्ताबाट हटाउन वामदेव नै तुलनात्मक रुपमा उपयुक्त पात्र देखेका नेपालले ओलीबाट बेला बेलामा खेप्नु परेको तिरस्कार र पेलानबाट मुक्ति पाउने आशामा वामदेवको पक्षमा भित्र भित्रै लागेका हुन् । राष्ट्रिपति भण्डारीको डिजाइनमा नेकपाका अध्यक्ष प्रचण्डको प्रस्तावमा संविधान संशोधन गरी प्रस्ताव ल्याउन माधवकुमार नेपालको अध्यक्षतामा कार्यदल गठन गरिएको थियो । गोप्य राखिएको कार्यदल गठन सम्वन्धी नेकपाको निर्णय वाहिरिए पछि वामदेवका प्रतिष्पर्धीले असन्तुष्टी जनाएका हुन् । गौतम प्रधानमन्त्री हुने बाटो खुलेपछि आफूहरु पछि पर्ने देखिएपछि पूर्वसभामुख तथा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ विरोधमा उत्रिएका हुन् । राजनीतिक संकट पर्दा ओलीलाई सहयोग गर्दै आएका सुभाषलाई ओलीले अहिलेकै प्रतिनिधिसभाको सभामुख बनाउने प्रयास गरेका थिए । तर, अर्का अध्यक्ष प्रचण्डको जोरबलको अघि ओलीको केही लागेन । सुभाषलाई अर्को उपयुक्त अवसर केही दिने सोचमा ओली छन् । सुभाषलाई खुसी पार्न ओलीले मौजुदा सरकारमा मन्त्रिपरिवर्तन गरी मन्त्रिपरिषद्मा भन्सार भनेर चिनिएको भौतिक पूर्वाधार मन्त्रीमा उनकै सिफारिसमा उनका भाई बसन्तकुमार नेम्वाङलाई जिम्मेवारी दिइसकिएको छ ।

    राजनीतिक विश्राम लिने मुडमा ओली
    सरकार र पार्टीमा राजनीतिक व्यवस्थापन र योजनालाई पूर्णता दिँदै उत्तराधिकारीको सूची तय भएपछि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीको सल्लाह बमोजिम आगामी चैत पहिलो वा दोस्रो साता अमेरिका जाने योजनामा छन् । उनले १३ वर्षअघि गरेको मृगौलाको प्रत्यारोपणमा समस्या देखिएपछि पुनः प्रत्यारोपण गर्न लागेका हुन् । पुरानो मृगौलाले काम गर्न छाडेको र हाल प्रत्येक हप्ता डायलसिस गर्नु परेको अवस्था छ । ११ फागुनमा जन्म दिन मनाउन आफ्नो जन्म घर तेह्रथुमको इवा पुगेका ओलीको धपेडीपछि उनलाई आराम गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । ओली राजनीतिक जीवनका गुरु तथा शहिद रामनाथ दाहालले सहादत प्राप्त गरेको दिन २१ फागुनमा फेरि झापाको सुखानी जाने भएका छन् ।

    जीवनमा पहिलो पटक जन्मेको गाउँ घर इवामा ओली, मैनाली, सिटौला र संग्रौला खलकलाई भोज भतेर दिएर वाल्य कालमा आफ्ना पीताले गरिवीका कारण भोग्नु परेको पारिवारिक तिरस्कारको प्यास मेट्ने प्रयास गरेका थिए । गरिवीका कारण अवसर र सुविधाको खोजिमा २०२० सालमा झापाको शरणामति झरेका केपी ओली विरिङ खोलाले घरजग्गा बगाएर वाढी पीडित भएपछि झापाकै गारामुनी र पछि पृथ्वीनगर बसाई सरेका थिए । उनका पीता मोहनप्रसाद पृथ्वीनगरमा भाई जयप्रसादसँगै बस्छन् । ओली २०४८ सालमा झापाकै दमकमा बसाइँ सरेका थिए भने २०७४ सालमा भक्तपुरको वालकोटमा बसाइंसरेका हुन् । उनको मतदाता नामावली सूर्यविनायक नगरपालिका वडा नं २ मा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार