Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • राजपाका केन्द्रीय सदस्य यादवमाथि ५ अर्ब ठगेको आरोप

    राजपाका केन्द्रीय सदस्य यादवमाथि ५ अर्ब ठगेको आरोप

    अनलाइन नेपाल
  • बुधबार, २३ पुष २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । झन्डै २ सय गरिब तथा विपन्न परिवारलाई ऋण दिएर उनीहरूबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादवमाथि गृह मन्त्रालयले छानबिन सुरु गरेको छ ।

    यादव घरजग्गा कारोबारीसमेत हुन् । सर्लाही मलंगवा–१ का रामबाबु यादव र सोनबर्साका सञ्जय शाह रौनियारले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न लगाएर ५ अर्ब बढी ठगी गरेको गुनासोसहित पीडितहरू गृह मन्त्रालय आएपछि मन्त्रालयले छानबिन सुरु गरेको हो ।



    उनीहरूले यादव र शाहले विभिन्न बहानामा जालझेल गर्दै करकापमा पारी जग्गासमेत खाइदिएको आरोप लगाएका छन् । तराई क्षेत्रमा पैसावालले चर्को ब्याज (मिटर ब्याज) लगाएर सर्वसाधारण ठग्ने क्रम उच्च छ ।
    पीडितहरू गृह मन्त्रालय आउनुअघि नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सँगै लिएर न्याय माग्न सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासमा पुगेका थिए । त्यसपछि पीडितहरू उजुरीका लागि गृह मन्त्रालय गएका हुन् ।



    गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य पथिकले पीडितहरू अन्यायमा परेको र अर्बौं ठगी भएको गुनासोसहित गृह मन्त्रालयमा आएको बताए ।

    पीडितहरूले विभिन्न समयमा यादव र रौनियारसँग ऋण लिएर तिरेको तर पीडकले नतिरेको देखाई थप रकम असुलेको आरोप लगाएका छन् । यसैगरी, थोरै ऋण दिएर उनीहरूले करकाप तथा जालझेल गरी महँगो मूल्यको जग्गा पास गराउन दबाब दिएको उनीहरूले बताएका छन् । उनीहरूले ऋण समयमै तिर्न नसक्दा १०औं गुणा बढी मूल्य पर्ने जग्गासमेत यादव र रौनियारले आफ्नो नाममा गराएको आरोप लगाएका छन् । पीडितहरूले गृह मन्त्रालय आउनुअघि स्थानीय प्रशासनमा समेत घटनाबारे जानकारी गराएको बताएका छन् । तर, स्थानीय प्रशासनबाट सुवाइ नभएपछि आफूहरू मन्त्रालय आएको उनीहरूले बताएका हुन् ।राजपा केन्द्रीय सदस्य रामबाबु यादवले राजनीतिक चरित्र हत्या गर्न आफूमाथि गलत आरोप लगाइएको दाबी गरेका छन् । (राजधानी दैनिक )

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार