Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • एनसेलको १९औं वार्षिकोत्सव : फाउण्डेसन स्थापनादेखि २० करोड योगदानको प्रतिवद्धतासम्म

    एनसेलको १९औं वार्षिकोत्सव : फाउण्डेसन स्थापनादेखि २० करोड योगदानको प्रतिवद्धतासम्म

    १ करोड ३० लाख प्रयोगकर्ता

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 180
    SHARES

    काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो यात्राको १९ औं वार्षिकोत्सव मनाएको छ । सन् २००४ मा नेपालमा स्थापना भएको कम्पनीले २००५ देखि आफ्नो सेवा सुरु गरेको थियो । नेपालमा एनसेलले सेवा विस्तार गरेसँगै धेरै नेपालीको हात हातमा मोवाइल पुगेको इतिहास हामीमाझ छर्लङ्गै छ ।

    एनसेल आउनुअघि नेपालमा मोबाइलमार्फत फोन गरेका मात्रै होइन, उठाएको पनि पैसा लाग्थ्यो । ६ प्रतिशत जनसंख्यामा मात्रै मोबाइल फोनको पहुँच थियो । सिम पाउनको लागि फारम भरेर कम्तीमा ६ महिना कुर्नुपर्थ्यो । तर एनसेलको उपस्थितिले आम नेपालीले सहजै सीम पाउन थाले मोवाइल प्रयोग गर्न सहज भयो ।



    सन् २०१० मै थ्रीजी सेवा विस्तार गरेको एनसेलले २०१७ मा फोरजी स्थापना गरेको थियो । अहिले देशको करिब ९० प्रतिशत क्षेत्रफलमा फोरजी सेवा पुगेको छ । यसले गर्दा प्रयोगकर्तालाई हाइस्पिड डेटा र भिडियो कन्टेन्ट प्रयोग गर्न सजिलो भएको छ ।



    यसरी शुरु भएको एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) का परियोजनाहरु सञ्चालन गर्न १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको समेत घोषणा गरेको छ । एनसेलले विगतका १९ वर्षमा १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरि २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) रुपैयाँ भन्दा बढिको योगदान गरेको जनाएको छ ।

    मंगलबार आयोजित वार्षिकोत्सवको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने–‘हाम्रा सबै राम्रा कार्यलाई एउटै उदेश्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं ।’

    एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । फाउन्डेसनको उदेश्यहरुमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

    एनसेलको सहयोग
    एनसेलले वृहत्तर हितको पक्षमा सामाजिक कार्यहरु गरेको उल्लेखनीय ट्र्र्र्याक रेकर्ड छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो । साथै आफ्ना परिवारजन तथा आफ्न्तहरुसँग सम्पर्कमा रहि रहन कम्पनीले ग्राहकहरुलाई १ अर्ब ६० करोड बराबरको सेवा सुविधाहरु निःशुल्क उपलब्ध गराएको थियो ।

    कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो । गत वर्षको जाजरकोट भूकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग उपलब्ध गराएको थियो र भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरुलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।

    त्यसैगरी २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरुको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको थियो ।

    आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि सधैं सँगै’ र एनसेल फाउन्डेसनको शुमारम्भसँगै एनसेलले आफ्नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलहरुका साथ धेरै भन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको जनाएको छ ।

    एनसलले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत २ अर्बभन्दा बढी रुपैयाँ समाजका लागि खर्च गरेको छ । शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रमा उक्त रकम खर्च गरिएको कम्पनीले जनाएको छ । एनसेलले स्थानीय तहहरू मिलेर कलंकी–कोटेश्वर चक्रपथमा ग्रिन बेल्ट बनाएको छ । विभिन्न अस्पतालसँग मिलेर टेलिमेडिसिन सेवा पनि दिइरहेको छ । एनसेलको यो सेवा कोरोना महामारीमा असाध्यै उपयोगी भएको थियो । अहिले पनि यो सेवाबाट हजारौँ नागरिक लाभान्वित भइरहेका छन् ।

    ‘नाइन्टिन फर नाइन्टिन’ परियोजना
    एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरु कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेको एनसेलले जनाएको छ ।

    ५ वर्षमा २० करोड योगदान गर्ने प्रतिवद्धता
    १९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेलले आगामी ५ वर्षमा कम्पनीले कम्तिमा रु.२० करोड सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । जाब्बोरले भने–‘एनसेलले टावरहरू राख्ने, मानिसहरुलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन, सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिम अनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्य सहित अगाडि बढिरहेको छ ।’

    वार्षिकोत्सवको अवसरमा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ । जाब्बोरले गत वर्ष एनसेलले कसरी पलेशालाई सहयोग गर्ने निर्णय लियो भन्ने बारेमा पनि बताए ।

    उनले भने–‘एक वर्ष अघि एनसेलको वार्षिकोत्सवको अवसरमा हामीले पारालिम्पिक कमिटी नेपालसँग भेट गरी हामी तपाईंहरुको संस्थामार्फत पारा खेलाडीहरुको विकासको लागि सहयोग गर्न चाहन्छौ भन्दा उहाँहरुले विश्वासनै गर्न सक्नुभएको थिएन । यो एक नितान्त सामाजिक पहल अन्तर्गत जहाँ सहयोग पुगेको छैन त्यो क्षेत्रमा सहयोग पुर्याउने उद्देश्य अनुरुप गरिएको सहकार्य थियो ।’

    विशेष अवसरमा विशेष अफर
    १९औं वार्षिकोत्सवको विशेष अवसरमा एनसेलले फरक रुपमा सक्षम व्यक्तिहरुको लागि नयाँ सिमको साथ रु. ३९९ को सधैं इल् प्याकमा ५० प्रतिशत छुट सुविधा उपलब्ध गराएको छ । जसका लागि परिचयपत्र सहित नजिकैको एनसेल सेन्टरमा जानुपर्ने पनि एनसेलले जनाएको छ ।

    त्यसैगरी एनसेलले वार्षिकोत्सवको अवसरमा तीन चार दिनका लागि एनसेल एपबाट सधैं ON प्याक खरिद गर्दा १९ प्रतिशत छुट पाउने योजना पनि सार्वजनिक गरेको छ । योजना यहि असोज १ गतेदेखि ४ गतेसम्म उपलब्ध हुने एनसेलले जनाएको छ ।

    एनसेलको इतिहास
    सन् २००५ को सेप्टेम्बर १७ बाट एनसेलले आफ्नो सेवा संचालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो । स्थापना हुँदा ‘मेरो मोबाइल’ नाम राखिएको थियो । सन् २००८ मा स्विडेनको कम्पनी टेलिया सोनेरा ग्रुपले खरिद गरी सन् २०१० पछि मेरो मोबाइलको नाम फेरेर एनसेल बनाइएको थियो ।

    फेरि सन् २०१६ मा टेलिया सोनेरासँग मलेसियका आजियटा ग्रुपले एनसेलको सेयर किन्यो । ७ वर्षपछि ‘नेपालमा लगानीको वातावरण नभएको’ विज्ञप्ति निकाल्दै आजियटा बाहिरियो । सन् २०२० मा एनसेल प्रालिबाट पब्लिक लिमिटेड बनेको छ ।

    सन् २०२३ डिसेम्बरदेखि ऐनसेलमा स्पेक्ट्रलाइट युके लिमिटेड भित्रियो । उसले आजियटाको शतप्रतिशत सेयर खरिद गरेको छ । जुन एनसेलको करिब ८० प्रतिशत सेयर हो ।

    त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ । वार्षिकोत्सवमा जाब्बोरले भने–‘यो यात्रा हाम्रो ग्राहक, साझेदारहरु, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोयाउन हामी तत्पर छौ ।’

    अर्थतन्त्रमा उल्लेखनिय योगदान
    नेपालको एक ठूलो करदाताको रुपमा एनसेलले गत आर्थिक वर्ष २०८०÷८१ सम्म विभिन्न शीषकमा एनसेलले राज्यलाई ३ खर्ब २० अर्बभन्दा बढी राजस्व बुझाई सकेको छ ।

    सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्याण्ड देखि प्वाइन्ट टु प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवा देखि क्लाउड र डेटा सेन्टर सेवा सहित नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पुरा गर्न नवीनतम सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ ।

    गत वर्ष मात्रै एनसेलले करिब २३ अर्ब रुपैयाँ सरकारलाई तिरेको छ । एनसेल हरेक वर्ष सर्वाधिक कर तिर्ने कम्पनीहरूको सूचीमा सरकारबाट सम्मानित हुँदै पनि आएको छ । सन् २०१६ मा आजियटाले एनसेलको सेयर खरिद गर्दा ४७ अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेको थियो । प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब २५ हजार जनालाई रोजगारी दिएको एनसेलले जनाएको छ ।

    १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरु जस्तै वृक्षरोपण, शैक्षिक सामग्रि वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार