Online Nepal
  • आइतबार, २३ असार २०८१
  • ट्राफिक प्रहरीको सात दशक लामो इतिहास तस्बिरमा सार्वजनिक

    ट्राफिक प्रहरीको सात दशक लामो इतिहास तस्बिरमा सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 201
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरेका हुन् ।



    उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ ।



    पुस्तकमा ट्राफिक प्रहरीको इतिहास, विकासक्रम, पोशाक परिवर्तन, घोडचढी प्रहरी, सडक सुरक्षा कार्यक्रमसँग हालसम्म गरिएका विविध गतिविधिलाई तस्बिरमा प्रस्तुत गरिएको छ ।

    नेपालमा पहिलो पटक सवारीसाधन भित्रिएपछि विसं २००७ मा रामदलमार्फत ट्राफिक व्यवस्थापन गरिएको इतिहास छ ।

    औपचारिक रूपमा २००९ सालमा ‘ट्राफिक पुलिस डिटचम्यान्ट’को नामबाट ट्राफिक प्रहरीको प्रारम्भ भएको थियो ।

    पुस्तकले ट्राफिक प्रहरीको विकासक्रम, त्यसपछिका महत्त्वपूर्ण अभियान एवं गतिविधिलाई तथ्यपरक बनाउने, सडक व्यवस्थापनका मुख्य सरोकारवाला निकायको भूमिका, समन्वय र सहकार्यलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।

    उक्त पुस्तक ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी नायब उपरीक्षकहरु चन्द्रबहादुर थापा, रविन कार्की र सुनिलजङ्ग शाह तथा प्रहरी निरीक्षक जितेश दाहाल र शेखरजङ्ग मल्लले सम्पादन गरेका थिए ।

    ट्राफिक प्रहरीको संस्थागत अभिलेख प्रभावकारी नहुँदा महत्त्वपूर्ण इतिहास लोप हुने क्रममा रहेकाले सो पुस्तक प्रकाशन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    आईजीपी कुँवरले नवीनतम् सोचबाट लक्ष्यित क्रियाकलापले मात्रै व्यावसायिकता अभिवृद्धि गर्नुका साथै समग्र सुरक्षा व्यवस्थापनमा प्रभावकारिता आउने विश्वास व्यक्त गर्दै ट्राफिक प्रहरीका कामकारबाहीलाई अझ जनमुखी बनाउन अनुशिक्षण, अनुगमन, सुपरीवेक्षण र परिमार्जन गरी सुधार ल्याउन निर्देशन दिए ।

    आईजीपी कुँवरले भने,’कतिपय सदस्यको आचरण, व्यवहार र गैरव्यावसायिक क्रियाकलापका कारण सबै सार्थक प्रयास ओझेलमा परेका छन् । जोखिम र चुनौतीपूर्ण कामकारबाहीका बाबजुद समग्र सङ्गठन जनगुनासोका घेरामा उभिनु परेको छ। ‘

    उनले उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोगद्वारा सडक व्यवस्थापन तथा यात्रुको सुरक्षामा ट्राफिक प्रहरीले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

    आईजीपी कुँवरले ट्राफिक प्रहरीको इतिहास र विकासक्रमका साथसाथै सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासलाई समेटेर तयार पुस्तक प्रकाशन गर्नु प्रशंसनीय रहेको बताए ।

    आईजीपी कुँवरले ट्राफिक प्रहरीको इतिहास, स्थापनाकालदेखि हालसम्म आएको परिवर्तन, सञ्चालित गतिविधि तथा ट्राफिक क्रियाकलापलाई समेटी तयार भएको यो प्रकाशन अनुसरणात्मक सामग्रीका रूपमा रहने विश्वास व्यक्त गरे ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको इतिहास, वर्तमान र आगामी परिवेश बुझ्न, अध्ययन गर्न पुस्तक महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा रहने विश्वास व्यक्त गरे।

    बढ्दो सहरीकरण र जनघनत्वका अनुपातमा वृद्धि भएका सवारी साधनको सङ्ख्या, सीमित सडक र पूर्वाधारका अभावका बीच ट्राफिक व्यवस्थापनमार्फत नागरिकको जीउधनको सुरक्षा गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएका छन् ।

    आर्थिक वर्ष २०७९/ ८० सम्ममा काठमाडौं उपत्यकामा १८ लाखभन्दा बढी सवारी साधन दर्ता भएका र तीमध्ये दैनिक करिब १४ लाख सवारी साधन उपत्यकाकामा सडकमा गुड्ने आकलन गरिएको छ ।

    काठमाडौंमा एक हजार एक सय १३ ट्राफिक दरबन्दी रहेकामा सोभन्दा ६७ प्रतिशत बढी अर्थात् एक हजार आठ सय ६६ जनशक्ति ट्राफिक व्यवस्थापनमा परिचालन भएका छन्।

    उपत्यकामा बर्सेनि सानाठूला करिब १० हजार सडक दुर्घटना हुने गरेका तथ्याङ्क छ । ती दुर्घटनामा करिब दुई सयको मृत्यु तथा आठ हजारभन्दा बढी घाइते हुने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार