Online Nepal
  • आइतबार, २३ असार २०८१
  • वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

    वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 147
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ ।

    प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी), सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम) र शोसल साइन्स बहाःको एक अध्ययनले मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको देखाएको हो ।



    कैदमा रहेकामध्ये कागजपत्रसम्बन्धी ६१ प्रतिशत, सहकर्मी वा रोजगारदातासँग झगडाका आठ प्रतिशत र आपराधिक गतिविधिसम्बन्धी कारणले तीन प्रतिशत श्रमिक पक्राउ परेका अध्ययनले देखाएको छ ।



    पिएनसीसीले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी ‘मलेसियामा ठगी, गिरफ्तारी र थुनामा रहेका नेपाली आप्रवासी श्रमिक’ बारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

    अध्ययनले पिएनसीसीमा सन् २०२० देखि २०२३ सम्म दर्ता भएका सात सय ५८ व्यक्तिका मुद्दाको विश्लेषण गरेको थियो । मलेसियामा नेपाली श्रमिकलाई आप्रवासनको यात्रा अझै पनि जोखिमपूर्ण र शोषणपूर्ण हुने गरेकोे अध्ययनले देखाएको छ ।

    कैदमा पर्नुका कारण

    रोजगारीका लागि मलेसिया पुगेका नेपाली मुख्यतया कागजातसम्बन्धि समस्या रहेको छ । कैदमा पर्ने ६१ प्रतिशत आवश्यक कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।

    कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेका ८० प्रतिशत श्रमिक अनुमतिपत्र बाँधिएको रोजगारदाताकहाँबाट भागेको र त्यस कारण वैध भिसा वा काम गर्ने अनुमतिपत्र नभएकाले नौ प्रतिशत श्रमिक कैद परेका हुन् ।

    नेपालका एजेन्ट वा भर्ना एजेन्सीबाट ठगिएर कागजपत्रविहीन भएर कैद पर्ने तीन प्रतिशत थिए । यस्तै राहदानी वा परिचयपत्र नभएकाले कैदमा पर्नेको सङ्ख्या एक प्रतिशत रहेको थियो । कतिपय अवस्थामा रोजगारदाताले राहदानी कागजपत्र नवीकरण नगर्दा श्रमिकलाई सास्ती हुने गरेको छ ।

    सार्वजनिक स्थानमा हिँडडुल गर्दा केही कारण प्रहरीले पक्राउ गरे आवश्यक परिचयपत्र र राहदानी देखाउन नसक्ने श्रमिकसमेत कैद परेका छन । रोजगारदातालाई पक्राउबारे जानकारी नहुँदा लामो समय श्रमिक कैदमा परेका मुद्दा पनि छन् ।

    यस्तै, आफ्ना सहकर्मी वा रोजगारदातासँग झगडा गरेर कैद पर्ने नेपाली आप्रवासी श्रमिक आठ, आपराधिक गतिविधिका कारण तीन, हत्या, चोरी, अवैध लागूऔषध बेच्ने, सेवन गर्ने, नक्कली मदिराको बिक्री, जुवा र अपहरणको मुद्दामा कैदमा पर्ने नेपाली श्रमिक धेरै सङ्ख्यामा रहेका अध्ययनमा उल्लेख छ ।

    अध्ययनअनुसार कैदभित्र पनि नेपाली आप्रवासी ठगिमा पर्छन् । न्यायका लागि सञ्चारसम्म पहुँच नहुने र सहयोग कहाँबाट लिने भन्ने जानकारी नहुने धेरैले कैदमुक्त गर्ने आश्वासनमा ठगिएका छन् ।

    अध्ययनका क्रममा पिएनसीसीमा सन् २०२० देखि २०२३ सम्म दर्ता भएका सात सय ५८ जना कैदमा परेका श्रमिकको तथ्याङ्क विश्लेषण र त्यसमध्ये १३ जनासँग अन्र्तवार्ता गरिएको थियो ।

    वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार सन् २०२२÷२३ मा मलेसियाका लागि दुई लाख १९ हजार तीन सय ५७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । मलेसिया जाने श्रमिकमध्ये अधिकांश मधेश, लुम्बिनी र कोशी प्रदेशका रहेका छन् । त्यहाँ उत्पादन क्षेत्रमा सबैभन्दा बढी ६६ दशमलव छ प्रतिशत, प्राथमिक पेशा, कृषि, चालक, मेसिन अप्रेटरलगायत क्षेत्रमा श्रम गर्दै आएका छन् ।

    सन् २००८ देखि २०२२ सम्म मलेसियामा तीन हजार पाँच सय १९ जना नेपाली श्रमिकको मृत्यु भएको अध्ययन प्रतिवेदनले देखाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार